काठमाडौं- नेपाल र भारतबीच पारवहन सन्धिको प्रोटोकल संशोधनसँगै अब कोलकाता र विशाखापटनम्बाट विराटनगर-जोगवनी तथा नौतनवा (सुनौली) हुँदै भैरहवासम्म रेल र सडकमार्गमार्फत सबै किसिमका कार्गो ढुवानी गर्न सकिने भएको छ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हा भारतको विशाखापटनममा आयोजना हुने ३०औँ पार्टनरसीप समिट २०२५ मा सहभागी हुन प्रस्थान गर्नुअघि भारतका वाणिज्य तथा उद्योगमन्त्री पीयूष गोयलसँग नयाँ दिल्लीमा भएको भेटका क्रममा उक्त संशोधनसम्बन्धी एलओईको आदान-प्रदान गरिएको मन्त्रालयले जनाएको छ।
यसअघि यी दुवै मार्गबाट केवल चारवटा वस्तुमात्रै रेलमार्फत ढुवानी गर्न सकिने व्यवस्था थियो। संशोधित प्रोटोकल कार्यान्वयनमा आएपछि सबै किसिमका सामान ढुवानी गर्न सकिने भएकाले नेपालका लागि पारवहन लागत र समयमा कमी आउने र व्यापार सहजीकरणमा उल्लेखनीय सुधार हुने विश्वास लिइएको छ।
भेटमा दुवै देशका मन्त्रीहरूले द्विपक्षीय व्यापार, पारवहन व्यवस्था, व्यापार पूर्वाधार विकास र लगानी प्रवर्द्धनका विषयमा विस्तृत छलफल गरेका थिए।
मन्त्री सिन्हाले भारतीय प्रमाणन संस्था ब्युरो अफ इन्डियन स्ट्यान्डर्ड बीआईएसको प्रमाणीकरण प्रक्रिया सरलीकरण गर्न, तथा व्यापार र पारवहन व्यवस्थामा सुधारका विषयलाई निष्कर्षमा पुर्याउन आग्रह गरेका छन्।
त्यसैगरी उनले भारतको 'छिमेकी पहिला' नीतिको प्रशंसा गर्दै सो नीतिअनुरूप व्यापार, पारवहन तथा लगानी प्रवर्द्धनका क्षेत्रमा दुवै मुलुकबीच समन्वय र सहकार्य अझ सुदृढ बनाउनुपर्ने आवश्यकता औँल्याए।
भारतीय मन्त्री गोयलले भारतले नेपाललाई विशेष प्राथमिकतामा राखेको उल्लेख गर्दै बाँकी रहेका विषयहरूलाई शीघ्र टुंग्याउन सम्बन्धित निकायहरूलाई सक्रिय हुन निर्देशन दिएको मन्त्रालयले जनाएको छ।
उक्त भेटमा नेपालका तर्फबाट भारतका लागि नेपाली राजदूत डा. शंकर शर्मा तथा दुवै देशका सम्बन्धित मन्त्रालयका वरिष्ठ अधिकारीहरू सहभागी थिए।