काठमाडौं- चालु आर्थिक वर्षका लागि विश्व बैंकले २.१ प्रतिशतको आर्थिक वृद्धिदर हुने निराशाजनक अनुमान नेपाल सरकारले अस्वीकार गरेको छ।
विश्व बैंकले अनुमान गरेजस्तो अवस्था नहेकाले यो अनुमान सत्य सावित नहुने अर्थमन्त्री रामेश्वर खनालले बताएका छन्।
विश्व बैंकको नेपाल डेभलपमेन्ट अपडेट प्रतिवेदन सार्वजनिक गर्ने कार्यक्रमा बोल्दै खनालले जुन कारणले आर्थिक वृद्धिदर शिथिल हुने दाबी गरिएको छ त्यसलाई खण्डित गर्ने धरातलीय तथ्यांक रहेको बताए।
'आन्दोलनका कारणले सेवा क्षेत्र प्रभावित हुने, त्यही कारणले आर्थिक वृद्धि कमजोर हुने प्रक्षेपण गरिएको छ तर अवस्था भने आन्दोलनपछिको महिनामा पर्यटक ऐतिहासिक संख्यामा आएका छन्' उनले भने।
आयातदेखि ऋण प्रवाहसम्म पनि निराशाजनक अवस्था नरहेकाले यस्तो निराशाजनक प्रक्षेपणसँग सहमत हुन नसकिने तर प्रक्षेपण गर्न जो कोही स्वतन्त्र भएको र सरकारले निर्देश गर्न नमिल्ने उनको भनाइ छ।
वृद्धिदरको प्रक्षेपणमा फरक राय भए पनि विश्व बैंकका सुझाव तथा सिफारिस भने मननयोग्य रहेको उनको भनाइ छ।
लामो समयदेखिको साझेदारी सम्झिँदै नेपालको सार्वजनिक वित्तको सुधारदेखि लगानीसम्म विश्व बैंकको योगदानलाई सरकारले सधैँ सरहाना गर्दै आएको अर्थमन्त्री खनालले बताए।