काठमाडौं- ग्लोबल आईएमई बैंक लिमिटेडको १९औँ वार्षिक साधारणसभा बुधबार काठमाडौंमा सम्पन्न भएको छ।
साधारणसभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चित मुनाफासमेतबाट बैंकले आफ्ना सेयरधनीहरूलाई प्रस्ताव गरेको चुक्ता पुँजीको ८ प्रतिशत नगद लाभांश (कर सहित) प्रस्ताव सर्वसम्मतिबाट स्वीकृत गरेको छ।
सभाले सञ्चालक समितिको तर्फबाट बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन र एकीकृत वित्तीय विवरणलाई अनुमोदन गर्दै नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।
बैंकले आर्थिक वर्ष २०८१।८२ मा ७ अर्ब २३ करोड रूपैयाँ सञ्चालन मुनाफा तथा ५ अर्ब ७ करोड रूपैयाँ करपछिको मुनाफा आर्जन गरेको थियो।
साधारणसभामा आफ्नो मन्तव्य राख्दै अध्यक्ष ढकालले बैंकले सरकार र राष्ट्र बैंकको नीति, नियमहरूको पूर्ण परिपालना गर्दै सेयरधनीहरूलाई उचित लाभांश प्रदान गर्न प्रतिबद्ध रहेको बताए।
साथै, बैंकले आफ्नो व्यावसायिक रणनीतिअन्तर्गत नयाँ व्यावसायिक क्षेत्रहरूको सन्तुलित विस्तार गर्दै जाने योजना रहेको पनि उनले उल्लेख गरे।