काठमाडौं- गएको साता समग्रमा ४.२५ अंकले घटेको सेयर बजार यो साता उतारचढावबीच ओरालोतिर नै बढी देखिएको छ। यो साता पहिलो र दोस्रो कारोबारमा ओरालोतिर लागेर तेस्रो कारोबारमा सामान्य वृद्धि देखिएको बजार पुन: ओरालो नै लागेको छ।
यो साता आइतबार ३०.०२ अंकले घटेको बजार सोमबार पनि ५.७९ अंकले घटेको थियो। मंगलबार ३.२१ अंकले बढेर २५६५.१६ बिन्दुमा पुगेको बजार बुधबार पुन: घटेको हो।
बुधबार २०.५६ अंकले घटेर बजार २५४४.५९ बिन्दुमा झरेको छ। ४९ कम्पनीको मात्र सेयर मूल्य बढेको बजारमा ३ अर्ब ८४ करोड ८५ लाख रुपैयाँको कारोबार भएको छ। १९८ कम्पनीको सेयर मूल्य घटेको छ भने ७ कम्पनीको मूल्य परिवर्तन भएको छैन।
गएको साउनमा देखिएको उछालपछि बजार धरमर गरिरहँदा बढ्दो ट्रेन्ड छायामा देखिएको छ। बढ्दो बजारमा केही समय उतारचढाव हुनु स्वाभाविक नै मान्नुपर्ने विश्लेषकहरू बताउँछन्। बजारले नयाँ उचाइ भेट्न मुस्किल भइरहँदा केही लगानीकर्ता अतालिए भने केहीले सुझबुझपूर्ण 'स्टप लस हन्ट' गरिरहेका छन्।
२०७८ भदौ २ गते कीर्तिमान बनेको हालसम्मकै उच्च ३१९९.०३ को बिन्दु पार हुने पर्खाइमा लगानीकर्ता लामो समयदेखि देखिन्छन्। गएको वर्ष साउन ३१ गते ३०००.८१ को बिन्दुसम्म पुगेको बजार त्यसयता उतारचढावमा देखिएकोमा गएको साउन १३ गते पनि ३००२.०८ बिन्दुसम्म पुगेको थियो।
आउँदो चुनावसम्म बजारले गति समात्ने विश्लेषकहरूले बताइरहे पनि बजारले सुधारको आधार देखाएको छैन। सरकारले निजी क्षेत्रमैत्री विभिन्न नीतिका साथै पुँजी बजारलाई समेत विशेष ध्यान दिइरहँदा लगानीकर्ता भने पर्ख र हेरको अवस्थामा देखिन्छन्।