काठमाडौं- काठमाडौंको हायात रिजेन्सी होटलले सबै श्रमिकलाई हटाउने निर्णय गरेको छ। भदौ २४ गतेको तोडफोड र आगजानीको घटनाले तत्काल सञ्चालनमा आउने अवस्था नभएको भन्दै होटलले श्रमिकलाई बिदा गर्ने नीति लिएको हो।
आन्दोलनकारीको भेषमा गएर होटलमा तोडफोड, चोरी डकैती तथा आगजानी गरिएको थियो। सो क्रममा भएको क्षतिपछिको मर्मतसम्भारकै लागि ठूलो रकम र समय लाग्ने होटलको भनाइ छ।
एकातिर मर्मतकै लागि ठूलो पुँजी आवश्यक हुने अर्कोतिर सञ्चालन आम्दानी नभएको अवस्थामा तलब दिएर श्रमिकलाई राख्न नसिकने भन्दै बिदा गर्ने निर्णय होटलले गरेको हो।
त्यस्तै त्यही दिन एक जना पाहुना होटलको चौथो तलबाट हामफाल्दा घाइते भएको र उपचारको क्रममा निधन भएको घटनाले ख्यातिमा पनि ठूलो नोक्सानी भएको होटलले बताएको छ। यस्तो अवस्थामा श्रमिकलाई निरन्तरता दिएर ठूलो आर्थिक भार थेग्न नसक्ने कम्पनीको भनाइ छ।
मजदुरहरू भने यो निर्णयको विरुद्धमा छन्। उनीहरूले पछिल्लो केही दिनदेखि धर्ना दिइरहेका छन्। सरकारको समेत लगानी भएको हायात होटलमा सर्वसाधारणकोसमेत सेयर रहेको छ।