बिहीबार , असार १८ गते २०८३    
बिहीबार , असार १८ २०८३

जेनजी आन्दोलनको क्षतिपछि ३ अर्ब ६८ करोड ४१ लाख रुपैयाँ बीमा भुक्तानी, बीमा दाबी २३ अर्ब ४६ करोड ९१ लाख

बुधबार, कात्तिक २६ २०८२
जेनजी आन्दोलनको क्षतिपछि ३ अर्ब ६८ करोड ४१ लाख रुपैयाँ बीमा भुक्तानी, बीमा दाबी २३ अर्ब ४६ करोड ९१ लाख

नेपाल पुनःबीमा कम्पनीमा हालसम्म २ हजार ८ सय ५७ वटा पुनःबीमा दाबी दर्ता भइ सोको कुल रकम करिब १५ अर्ब ८२ करोड ७० लाख रुपैयाँ पुगेको छ।

काठमाडौं- जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बीमा दाबीमध्ये हालसम्म निर्जीवन बीमा कम्पनीले करिब ३ अर्ब ६८ करोड ४१ लाख रुपैयाँ भुक्तानी गरेका छन्।

नेपाल बीमा प्राधिकरणमा निर्जीवन बीमा कम्पनीबाट प्राप्त पछिल्लो तथ्यांकअनुसार आन्दोलनका क्रममा परेका बीमा दाबी कुल २३ अर्ब ४६ करोड ९१ लाख रुपैयाँ रहेको प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीले जानकारी दिए। 

ती दाबीमध्ये अग्रिम भुक्तानीसहित सम्पत्ति बीमातर्फ ६ सय ९३ वटा दाबीको १९ अर्ब ४ करोड ९ लाख रकममध्ये करिब २ अर्ब ९२ करोड ८६ लाख रुपैयाँ, मोटर बीमातर्फ २ हजार २ सय ९० वटा दाबीको करिब ३ अर्ब ४७ करोड ७ लाखमध्ये ६८ करोड ६१ लाख रुपैयाँ भुक्तानी भएको कार्यकारी निर्देशक सुवेदीले बताए।

त्यसैगरी इञ्जिनियरिङ तथा ठेक्का जोखिम बीमातर्फ २ सय ९ वटा दाबीको करिब ५४ करोड ७५ लाखमध्ये ६ करोड २३ लाख, परिवहन बीमातर्फ १२ वटा दाबीको करिब एक करोड ६८ लाखमध्ये ४७ लाख र अन्य बीमातर्फ ४२ वटा दाबीको करिब ३९ करोड ३० लाखमध्ये २३ लाख रुपैयाँ अग्रिम भुक्तानी भएको प्राधिकरणले जनाएको छ।

यसैबीच जेनजी आन्दोलनका क्रममा भएका क्षतिको बीमा दाबी भुक्तानीका लागि नेपाल पुनःबीमा कम्पनीले निर्जीवन बीमा कम्पनीलाई करिब २ अर्ब ४८ करोड १० लाख रुपैयाँ अग्रिम भुक्तानी उपलब्ध गराएको प्राधिकरणले जनाएको छ।

नेपाल पुनःबीमा कम्पनीमा हालसम्म २ हजार ८ सय ५७ वटा पुनःबीमा दाबी दर्ता भइ सोको कुल रकम करिब १५ अर्ब ८२ करोड ७० लाख रुपैयाँ पुगेको छ।

बीमा दाबी छिटो र पारदर्शी रूपमा भुक्तानी सुनिश्चित गर्न प्राधिकरणले बीमा कम्पनी र पुनःबीमा कम्पनीसँग निरन्तर समन्वय गरिरहेको कार्यकारी निर्देशक सुवेदीले बताए।


प्रकाशित : बुधबार, कात्तिक २६ २०८२०९:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend