बिहीबार , असार १८ गते २०८३    
बिहीबार , असार १८ २०८३

बढ्दो छ नेपाली चलचित्रको व्यापार

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, कात्तिक २५ २०८२
बढ्दो छ नेपाली चलचित्रको व्यापार

कात्तिक १४ गतेदेखि प्रदर्शन भएको चलचित्र ‘परान’ ले दर्शकको राम्रो साथ पाएको छ। दीपकप्रसाद आचार्यले निर्देशन गरेको उक्त चलचित्र दर्शकबाट प्राप्त प्रतिक्रियाकै कारण घरेलु बजारमा राम्रो कमाइ गरिरहेको छ।

काठमाडौं- पछिल्लो समय नेपाली चलचित्रलाई दर्शकले साथ दिएका छन्। केही वर्षअगाडिसम्म तिहारमा नै पनि नेपालीभन्दा विदेशी चलचित्रको वर्चस्व देखिन्थ्यो तर पछिल्लो समय नेपाली दर्शकको प्राथमिकतामा नेपाली चलचित्र नै परेको छ। 

नेपाली कला र संस्कृतिसँगै सामाजिक कथा समावेश गरेर तयार गरिएका प्रदर्शनरत चलचित्रहरूले दर्शकको साथ पाउँदा घरेलु बजारमा राम्रो व्यापार गरेका छन्। चलचित्र विकास बोर्डअन्तर्गत रहेको ‘बक्सअफिस २ सिनेपाः’ को तथ्यांक सार्वजनिक गरिएको छ, जहाँ नेपाली चलचित्र हेर्ने दर्शक बढिरहेको पाइन्छ। 

गएको शनिबार अर्थात् कात्तिक २२ गतेसम्मको सार्वजनिक तथ्यांकअनुसार चलचित्र ‘जेरी अन टप’ ले सबैभन्दा बढी कमाइ गरेको छ। उक्त चलचित्रलाई ३ लाख ७५ हजार ८१ दर्शकले हेर्दा ११ करोड ७१ लाख ४१ हजार ४ सय ९८ रुपैयाँ कमाइ (ग्रस कलेक्सन) गरेको छ। 

'हामीले सगरमाथाको कथा र सुन्दरतालाई चलचित्रमा प्रस्तुत गरेका छौँ, हाम्रो प्रयासलाई दर्शकले साथ दिनुभएपछि अन्य चलचित्रकर्मीलाई पनि हौसला प्राप्त भएको छ, नयाँ विषय र गुणस्तरीय चलचित्र बन्यो भने दर्शकले रुचाउनु हुन्छ भन्ने पुनः प्रमाणित भएको छ, नेपालको सुन्दरता चलचित्रको माध्यमले प्रचारप्रसार गर्नु हामी चलचित्रकर्मीको पनि दायित्व हो', निर्माताले भने। गत असोज ३१ गतेदेखि प्रदर्शनरत उक्त चलचित्रलाई सुयोग गुरुङले निर्देशन गरेका हुन्। 

यस्तै भाइटीकाका अवसर पारेर गत कात्तिक ६ गतेदेखि प्रदर्शनरत चलचित्र ‘वरिष्ठ बलराम’ ले गएको शनिबार बेलुकीसम्म २ करोड ५६ लाख ५७ हजार ९२९ कमाएको छ। उक्त चलचित्रलाई ८५ हजार ३५६ दर्शकले हेरेका छन्। दयाहाङ राई, विजय बराल, सम्वृद्धि अर्याल लगायतका कलाकारले अभिनय गरेको उक्त चलचित्रलाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन्।   

यस्तै कात्तिक ६ मै प्रदर्शन भएको चलचित्र ‘सोल्टिनी’ले भने अपेक्षाभन्दा निकै कमजोर कमाइ गरेको छ। उक्त चलचित्रलाई आठ हजार ९४५ दर्शकले हेर्दा २९ लाख पाँच हजार ९५६ रुपैयाँमात्र कमाइ गरेको छ। प्रकाश सपूत, परीक्षा लिम्बू लगायतका कलाकारले अभिनय गरेको उक्त चलचित्रलाई अर्जुन सुवेदीले निर्देशन गरेका हुन्। 

‘तक्मे बुढा’ को उपनामले परिचित अभिनेता विल्सनविक्रम राईले निर्देशन गरेको ‘मैझारो’ ले पनि घरेलु बजारमा सफलता प्राप्त गर्न सकेन। अभिनेता राईको पहिलो निर्देशकीय चलचित्र नै असफल भयो। अभिनेता धिरज मगर, मिरुना मगर, दयाहाङ राई लगायतका कलाकारले अभिनय गरेको उक्त चलचित्रले १ करोड चार लाख २९ हजार २ सय ८८ रुपैयाँ कमाएको छ। ३५ हजार १ सय ७६ दर्शकले मात्र उक्त चलचित्रलाई हेरेका थिए। 

यस्तै कात्तिक १४ गतेदेखि प्रदर्शन भएको चलचित्र ‘परान’ ले दर्शकको राम्रो साथ पाएको छ। नीर शाह, मदनकृष्ण श्रेष्ठ जस्ता दिग्गज अभिनेताले अभिनय गरेको उक्त चलचित्रमा बुबाछोराको कथालाई देखाइएको छ। दीपकप्रसाद आचार्यले निर्देशन गरेको उक्त चलचित्र दर्शकबाट प्राप्त प्रतिक्रियाकै कारण घरेलु बजारमा राम्रो कमाइ गरिरहेको छ। 

उक्त चलचित्रले तीन करोड ७१ लाख ३६ हजार ५५३ कमाइ गरेको छ। उक्त चलचित्रलाई एक लाख २८ हजार ६ सय ७९ जनाले हेरेका छन्। सुरुवाती व्यापार कमजोर भए तापनि चलचित्रले सकारात्मक प्रतिक्रिया पाउँदा दर्शकको चाप चलचित्र भवनमा बढेको निर्देशक आचार्यले बताए। उक्त चलचित्रमा केकी अधिकारी, महेश त्रिपाठी, पूजा चन्द, अञ्जना बराइली लगायतका कलाकारले अभिनय गरेका छन्।

यस्तै कात्तिक २१ मा प्रदर्शन भएका दुई चलचित्र ‘जारी २ः सङ अफ च्याब्रुङ’ र ‘मन विनाको धन’ लाई दर्शकले प्रारम्भिक रुपमा साथ दिएका छन्। यद्यपि, यी दुईको व्यावसायिक रिपोर्ट अझै सार्वजनिक भइसकेको छैन। 

समग्रमा चाडपर्वलाई लक्षित गर्दै प्रदर्शन भएका नेपाली चलचित्रमा दर्शकको उपस्थिति बलियो देखिएको छ। विदेशीको तुलनामा नेपाली चलचित्रप्रतिको आकर्षण बढेको देखिँदैछ। घरेलु बजारमा नेपाली चलचित्रले गरिरहेको कमाईले समग्र चलचित्र क्षेत्रलाई नै सकारात्मक सन्देश प्रवाह गरेको वितरक करण श्रेष्ठले बताए। 

अघिल्लो वर्ष ‘पूर्णबहादुरको सारंगी’ ले ऐतिहासिक व्यापार गरेपछि नेपाली चलचित्रमा दर्शकको आकर्षण बढेको पाइन्छ। दसैँ, तिहार, शिवरात्रि, नयाँवर्ष जस्ता बिदाको समयमा नेपाली चलचित्रको व्यापार उच्च हुने गरेको तथ्यांक बक्सअफिसमा देखिएको छ। रासस


प्रकाशित : मंगलबार, कात्तिक २५ २०८२१५:५२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend