बिहीबार , असार १८ गते २०८३    
बिहीबार , असार १८ २०८३

पुल नहुँदा सास्ती

मंगलबार, कात्तिक २५ २०८२
पुल नहुँदा सास्ती

गिधनियामा बन्न थालेको पुल पनि सात वर्षदेखि अलपत्र छ। जुन ठाउँमा अहिले दुईवटा पिल्लर मात्रै छन्। त्योभन्दा अगाडि बढ्न सकेको छैन।

दाङ- तुलसीपुर उपमहानगरपालिका-१३ स्थित तुइसोताले त्यहाँका बासिन्दालाई बर्सेनि पिरोल्छ। फूलबारीको बराखुट्टी जाँदासम्म नौपटक तर्नुपर्छ, तर पनि त्यो खोलामा पक्की पुल नहुँदा स्थानीयलाई निकै समस्या पर्छ। त्यहाँ कुनै पनि खोलामा पक्की पुल छैन।

त्यसले गर्दा गाडी आवतजावतमा पनि निकै समस्या हुने गरेको स्थानीय बलराम घर्तीले बताए। उनका अनुसार तीन स्थानमा झोलुंगे पुल भए पनि अन्य स्थानमा अझै पनि पुल निर्माण भएका छैनन्।

बराखुट्टी र गाईखुट्टीको बीचमा एउटा झोलुंगे पुल छ। त्यस्तै साजखुट्टी र बराखुट्टी जोड्ने अर्को पुल छ भने अमुवापुरमा गरी तीन झोलुंगे पुल छन्। ती झोलुंगे पुलबाट आवतजावतमा केही सहज भए पनि अन्य ६ वटा स्थानमा झोलुंगे पुल पनि छैनन्। ती स्थानमा झोलुंगे पुलसमेत नहुँदा बर्सातको समय निकै समस्या हुने उनको भनाइ छ।

'हामीले त्यही खोला नौ ठाउँमा तर्नुपर्छ', उनले भने, 'तीन ठाउँमा पुल बनेकाले सहज भए पनि अन्य ठाउँमा एकदमै गाह्रो छ।'

गिधनियामा बन्न थालेको पुल पनि सात वर्षदेखि अलपत्र छ। जुन ठाउँमा अहिले दुईवटा पिल्लरमात्रै छन्। त्योभन्दा अगाडि बढ्न सकेको छैन।

यसरी पुल अलपत्र भएपछि आफूहरु आजित भएको स्थानीय भक्तबहादुर बस्नेतले बताए। 'बन्न लागेका पुल पनि बीचमै अलपत्र छन्', उनले भने, 'यसरी त हामी निकै मारमा परेका छौँ।'

हाल सोही ठाउँको मजघटुवामा पुल निर्माणका लागि प्रक्रिया अघि बढेको छ। उपमहानगरपालिकाले त्यसका लागि ५० लाख रूपैयाँ बजेट विनियोजन गरेको छ। उपमहानगरपालिका भित्रकै पहिलो बक्स पुल निर्माणका लागि सोही स्थानमा सर्वेसमेत भइरहेको नगर प्रमुख टिकाराम खड्काले बताए। 

उनका अनुसार सोही पुल आउँदो जेठसम्म सक्नेगरी तयारी गरिएको छ। जहाँ पुल निर्माण भएपछि त्यहाँका आधा दर्जन बढी गाउँलाई सहज हुने उनको भनाइ छ। मजघटुवा, रनियापुर, बराखुट्टी, सासखुट्टी, मन्नामेलगायतका बासिन्दालाई सहज हुने उनको भनाइ छ। रासस


प्रकाशित : मंगलबार, कात्तिक २५ २०८२१२:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend