सोमबार, साउन ४ गते २०८३    
सोमबार, साउन ४ २०८३

उपभोक्ता झुक्याउँदै बीवाईडी बिक्रेता साइमेक्स : १० वर्ष वारेन्टी उत्पादकले नभइ अनिवार्य बीमाबाट

स्किम ल्याएको महिनौँपछि बीमा प्राधिकरणबाट स्वीकृति

मंगलबार, कात्तिक २५ २०८२
उपभोक्ता झुक्याउँदै बीवाईडी बिक्रेता साइमेक्स : १० वर्ष वारेन्टी उत्पादकले नभइ अनिवार्य बीमाबाट

साइमेक्सले बीवाईडीका गाडी किन्ने ग्राहकलाई १० वर्ष वारेन्टी दिने बतायो तर त्यो एक्सटेन्डेड वारेन्टी उत्पादक कम्पनीले दिएको वा बीमाबाट कभर हुने हो? गाडी किन्ने उपभोक्तालाई स्पष्ट रुपमा खुलाउने गरेको छैन।

काठमाडौं- कार आयातमा करछलीदेखि नयाँ कारको मूल्यबराबर नै मर्मत खर्च असुलेको बीवाईडी बिक्रेता साइमेक्स इंकले पुनः उपभोक्तालाई झुक्याएको छ। साइमेक्सले बीवाईडीका कारमा १० वर्ष वारेन्टीको घोषणा गरेको थियो। उक्त वारेन्टी उत्पादक कम्पनी (ओईएम) ले दिएको नभइ बीमाबाट गराएको पाइएको छ। 

ओईएमबाट ८ वर्षको मात्र वारेन्टी रहेको र बाँकी दुई वर्ष बीमाबाट कभर हुने व्यवस्था गरिएको खुलेको छ।

चिनियाँ सवारी उत्पादक कम्पनी बीवाईडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंक प्रालिले यसरी बीमाबाट बढाइएको वारेन्टीबारे गाडी किन्ने उपभोक्तालाई कुनै जानकारी नै गराएको छैन। साइमेक्सले उपभोक्तालाई बीवाईडीका कार किन्दा १० वर्ष वारेन्टी पाइनेमात्र बताउने गरेको छ। 

साइमेक्सले केही महिनाअघि बीमा कम्पनीसँग एक्सटेन्डेड वारेन्टीबारे सम्झौता गरेर नयाँ उपभोक्ता स्किम ‘कम्प्रिह्यान्सिभ एक्सटेन्डेड वारेन्टी’ घोषणा गरेको थियो। यसरी बीमा कम्पनी र साइमेक्सबीच यस्तो स्किम ल्याउँदासम्म नेपाल बीमा प्राधिकरणबाट स्वीकृति नै लिएको थिएन।

बीमासम्बन्धी कुनै पनि पोलेसी जारी गर्नुपूर्व प्राधिकरणबाट अनिवार्य स्वीकृति लिनुपर्ने व्यवस्था रहेको छ तर बीवाईडी बिक्रेता साइमेक्सको बदमासी र १० वर्षसम्मको ‘व्यापार’ सुनिश्चित हुने भएपछि बीमा कम्पनीले आँखा चिम्लिएर सम्झौता गरेको थियो। 

विश्वका विभिन्न देशमा केही वर्षअघि चलेर खासै सफल नभएको यस्तो प्रकारको वारेन्टी बीवाईडीले अहिले नेपालमा साइमेक्सको जोडबलमा बीमाको प्रलोभनमा पारेर दिइरहेको छ। बीमा प्राधिकरणलाई समेत प्रभावित बनाइ उपभोक्ता झुक्याउने एक्सटेन्डेड वारेन्टी ल्याएको देखिएको छ।

चीनबाट आउने बीवाईडी गाडीका लागि नेपालमा यसको सम्पूर्ण व्यवस्थापनदेखि निर्णायक सबै काममा चिनियाँ कर्मचारीकै भूमिका रहेको छ। आधिकारिक बिक्रेता साइमेक्स इंक प्रालिलाई चिनियाँहरूले ‘वैधानिक माध्यम’को रुपमा मात्र प्रयोग गरिरहेका छन्। 

उत्पादक कम्पनीले दिनेभन्दा बढी वारेन्टी दिने व्यवस्थालाई 'एक्सटेन्डेड वारेन्टी' भनिँदै आएको छ। साइमेक्सले बीवाईडीका गाडी किन्ने ग्राहकलाई १० वर्ष वारेन्टी दिने बतायो तर त्यो एक्सटेन्डेड वारेन्टी ओईएमले दिएको वा बीमाबाट कभर हुने हो? गाडी किन्ने उपभोक्तालाई स्पष्ट रुपमा खुलाउने गरेको छैन।

बीमाबाट एक्सटेन्डेड वारेन्टी दिँदा अनिवार्यरुपमा सवारी खरिद गर्ने उपभोक्तालाई जानकारी गराउनु पर्छ। यसका साथै बीमा कम्पनीले यस्तो बीमा पोलिसी जारी गर्दा नियामक निकायबाट अनिवार्य रुपमा स्वीकृति लिएको हुनुपर्छ। हालैमात्र नियामकीय स्वीकृति आएकाले यसअघि साइमेक्स र बीमा कम्पनीले मनमौजी यस्तो बीमा पोलिसी जारी गरेका थिए। 

यो एक्सटेन्डेड वारेन्टीबारे हालै केही बीमा कम्पनीले स्वीकृति लिएको बीमा प्राधिकरणका एक अधिकारीले बताए। उनका अनुसार बीमाबाट कभर हुने एक्सटेन्डेड वारेन्टीबारे उपभोक्तालाई अनिवार्यरुपमा जानकारी दिनुपर्छ। तर बीमा कम्पनी र बीवाईडी बिक्रेता साइमेक्स इंकले उपभोक्तालाई बताएको पाइएको छैन। 

चिनियाँ विद्युतीय सवारी उत्पादक कम्पनीले चीनमै पनि १० वर्ष वारेन्टी दिएको छैन। जहाँजहाँ बीवाईडीका विद्युतीय कार बिक्री हुन्छन् ती देशमा ८ वर्षमात्र वारेन्टी दिइँदै आएको छ। त्यसैले नेपालमा पनि उत्पादन कम्पनीले बीवाईडीमा ८ वर्षको मात्र वारेन्टी दिइरहेको छ।

साइमेक्स इंकले भने उपभोक्तालाई जानकारी नै नदिइ बीमा कम्पनीसँग सम्झौता गरेर १० वर्षसम्म अनिवार्य रुपमा त्यही बीमा कम्पनीमा बीमा गर्नुपर्ने सर्त राखेको छ। त्यही सर्तअनुसार दुई वर्षको एक्सटेन्डेड वारेन्टी उपलब्ध गराउने गरि नयाँ स्किम घोषणा गरेको हो। 

साइमेक्सले ८ वर्ष उत्पादकको वारेन्टीमा २ वर्ष बीमाबाट कभर हुने एक्सटेन्डेड वारेन्टीसहित १० वर्षे वारेन्टी २०८२ बैशाखमा घोषणा गरेको थियो। यस्तो एक्सटेन्डेड वारेन्टीको स्वीकृति भने बीमा प्राधिकरणबाट दुई महिनाअघिमात्र लिएको थियो। 

यस्तो छ दुई वर्ष वारेन्टी एक्सटेन्ड गर्न साइमेक्स र बीमा कम्पनीको सम्झौता

१० वर्षसम्म बीमाको ग्यारेन्टी भएपछि बीवाईडी बिक्रेता साइमेक्स इंकको बदमासीमा बीमा कम्पनीले आँखा चिम्लिएर साथ दिएको छ। ८ वर्षसम्मको वारेन्टी उत्पादकले दिने र त्यसपछिको दुई वर्षको एक्सटेन्डेड वारेन्टीका लागि पहिलो वर्ष साइसेक्सले केही प्रिमियम रकम बीमा कम्पनीलाई दिने भनिएको छ।

अन्तिमको दुई वर्षको एक्सटेन्डेड वारेन्टी पाउनका लागि हरेक उपभोक्ताले १० वर्षसम्म तोकिएकै बीमा कम्पनीमा गाडीको पूर्ण बीमा गराउनु पर्ने सर्त राखिएको छ।

यसका साथै उपभोक्ताले १० वर्षसम्मै साइमेक्सकै सर्भिस सेन्टरमा सर्भिसिङ गराउनु पर्ने छ। उपभोक्ताले गाडी बिक्री गरेपछि किन्ने दोस्रो व्यक्तिले त्यस्तो वारेन्टी पाउने/नपाउने टुंगो छैन। यसमा अन्य धेरै सर्तहरू अघि सारिएको छ, जो मोटर बीमामा पूरा गर्न कठिन छ। 

पहिलो वर्ष साइमेसले तिर्ने प्रिमियमका लागि कम्पनी र बीमा कम्पनीबीच सहमति भएको छ। त्यसअन्तर्गत ८ वर्षपछिको दुई वर्षे एक्सटेन्डेड वारेन्टीले कभर गर्ने कम्पोनेन्ट (ब्याट्री, मोटर, कन्ट्रोलरलगायत) को अहिलेको मूल्यअनुसार त्यसको ०.१ प्रतिशत प्रिमियम साइमेक्स इंकले बीमा कम्पनीलाई सुरुमै भुक्तानी गर्ने दुईपक्षबीच भएको सम्झौतामा उल्लेख छ।

उदाहरणका लागि दुई वर्षको एक्सटेन्डेड वारेन्टीले कभर गर्ने सामानको अहिलेको मूल्यअनुसार २५ लाख रुपैयाँ छ भने त्यसको ०.१ प्रतिशत अर्थात २ हजार ५ सय रुपैयाँ गाडी बिक्री गर्दा (१० वर्षे वारेन्टी पाउनका लागि) साइमेक्सले उक्त रकम बीमा कम्पनीलाई दिने भनिएको छ। 

यस्तो सम्झौताले बीमा कम्पनीको राम्रो व्यापार बढ्ने छ भने साइमेक्स इंकले उपभोक्तालाई १० वर्ष वारेन्टी छ भन्ने भ्रम देखाएर प्रचारबाजी गरिरहेको छ। तर गाडी किन्ने उपभोक्ताले बीमा कम्पनी र साइमेक्स इंंकबीचको सर्त पालना गर्न नसक्दा उक्त वारेन्टी पाउनयोग्य हुने सम्भावना लगभग हुँदैन।

अधिकांश नेपालीले बैंक लोन सकिएपछि गाडीको फुल इन्स्योरेन्समा उत्ति चासो दिँदैनन्। गाडी किन्नेले अर्को कम्पनीमा बीमा गरेमा पनि त्यो एक्सटेन्डेड वारेन्टी स्वतः रद्द हुनेछ। गाडी दोस्रो व्यक्तिलाई बिक्री गरेमा पनि त्यो रद्द हुनेछ।

यस्ता पोलिसी जारी हुँदा बीमा कम्पनी र गाडी बिक्री गर्ने कम्पनीलाई भन्दा उपभोक्तालाई लाभ हुने व्यवस्था नियामकीय निकायले गर्नुपर्छ।

बीवाईडीमा साइमेक्स इंकको बदमासीबारे अन्य सामग्री पढ्न यहाँ क्लिक गर्नुहोस्


प्रकाशित : मंगलबार, कात्तिक २५ २०८२१६:१७
  • सम्बन्धित विषय:

  • # बीवाईडीमा साइमेक्सको बदमासी


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend