काठमाडौं- ४५ दिनभन्दा लामो समय आन्दोलनमा रहेका धितोपत्र बोर्डका कर्मचारी नियमित काममा फर्किएका छन्। असोज ६ गतेदेखि आन्दोलनमा उत्रिएका कर्मचारीसँग अर्थ मन्त्रालयको छलफलपछि उनीहरू काममा फर्किएका हुन्।
अर्थ मन्त्रालयकै एउटा पत्रका कारणले आन्दोलनमा उत्रिएका कर्मचारीलाई सो पत्रमा दिइएको निर्देशनका बारेमा पुर्नविचार गर्ने अर्थले प्रतिबद्धतता गरेपछि कर्मचारीहरू काममा फर्किएका हुन्।
गएको असोज २ गते तत्कालीन राजस्वसचिव दिनेश घिमिरेले सचिवस्तरीय निर्णयबाट अख्तियारको निर्देशनको हबला दिँदै बोर्डले सञ्चालन गरेका कोष खारेजसँगै यसअघि भएको खर्च पनि तिराउन अर्थ मन्त्रालयले निर्देशन दिएको थियो। बोर्डले कर्मचारी कल्याण कोष र कर्मचारी सुरक्षण कोष स्थापना गरी सञ्चालन गरिरहेको छ।
यो निर्देशन अमानवीय भएको भन्दै कर्माचारीहरू आक्रोशित भएका थिए। तर अब अर्थले सो निर्देशन कार्यान्वयन गर्ने, आवश्यक नियामावली संशोधन तथा परिमार्जनमा बोर्डले अघि बढाउने र अर्थले साथ दिने प्रतिबद्धतता गरेका छन्।
यही प्रतिबद्धतापछि आन्दोलनको स्वरुप परिवर्तन गरिएको ट्रेड युनियहरूले जानकारी दिएका छन्। पेनडाउन स्थगन गरेर कात्तिक मसान्तसम्म धर्ना जारी राख्ने उनीहरूले जानकारी दिएका छन्।