शुक्रबार, असार १९ गते २०८३    
शुक्रबार, असार १९ २०८३

उचाइतर्फ बढ्न धरमर गर्दै सेयर बजार, ४ अर्ब ५१ करोड रुपैयाँको कारोबार

सोमबार, कात्तिक २४ २०८२
उचाइतर्फ बढ्न धरमर गर्दै सेयर बजार, ४ अर्ब ५१ करोड रुपैयाँको कारोबार

काठमाडौं- गएको साता समग्रमा ४.२५ अंकले घटेको सेयर बजार यो साता पहिलो र दोस्रो कारोबारमा पनि ओरालोतिर नै लागेको छ। 

आइतबार ३०.०२ अंकले घटेर बजार २५६६.०९ बिन्दुमा झरेको बजार सोमबार ५.७९ अंकले घटेर २५६०.३० बिन्दुमा झरेको छ। ९० कम्पनीको मात्र सेयर मूल्य बढेको बजारमा ४ अर्ब ५१ करोड ४४ लाख रुपैयाँको कारोबार भएको छ। १५१ कम्पनीको सेयर मूल्य घटेको छ भने ११ कम्पनीको मूल्य परिवर्तन भएको छैन। 

गएको साता आइतबार सेयर बजार ३०.७५ अंकले वृद्धि भएको थियो। सोमबार ८.२३ अंकले घटेको बजार मंगलबार पनि २७.६५ अंकले ओरालो लागेको थियो। बुधबार १२.१७ अंकले बढेको बजार बिहीबार ११.२९ अंकले घटेको थियो। 

आउँदो चुनावसम्म बजारले गति समात्ने विश्लेषकहरूले बताइरहे पनि बजारले सुधारको आधार देखाएको छैन। सरकारले निजी क्षेत्रमैत्री विभिन्न नीतिका साथै पुँजी बजारलाई समेत विशेष ध्यान दिइरहँदा लगानीकर्ता भने पर्ख र हेरको अवस्थामा देखिन्छन्। 

गएको साउनमा देखिएको उछालपछि बजार धरमर गरिरहँदा बढ्दो ट्रेन्ड छायामा देखिएको थियो। बढ्दो बजारमा केही समय उतारचढाव हुनु स्वाभाविक नै मान्नुपर्ने विश्लेषकहरू बताउँछन्। बजारले नयाँ उचाइ भेट्न मुस्किल भइरहँदा केही लगानीकर्ता अतालिए भने केहीले सुझबुझपूर्ण 'स्टप लस हन्ट' गरे।

२०७८ भदौ २ गते कीर्तिमान बनेको हालसम्मकै उच्च ३१९९.०३ को बिन्दु पार हुने पर्खाइमा लगानीकर्ता लामो समयदेखि देखिन्छन्। गएको वर्ष साउन ३१ गते ३०००.८१ को बिन्दुसम्म पुगेको बजार त्यसयता उतारचढावमा देखिएकोमा गएको साउन १३ गते पनि ३००२.०८ बिन्दुसम्म पुगेको थियो।


प्रकाशित : सोमबार, कात्तिक २४ २०८२१५:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend