दाङ- घोराही-तुलसीपुर चारलेन सडक निर्माणका लागि सर्वेको काम पूरा भएको छ। गएको २४ असारमा श्री दिवा-बन्दन भगवती जेभीसँग सम्झौता भएर सोही कम्पनीले सम्पूर्ण कागजी काम सकेको कार्यालय प्रमुख दीपेन्द्रबहादुर विष्टले जानकारी दिए।
उनका अनुसार संयुक्त सर्वेक्षण, सूची सर्वेक्षणलगायतका काम सकिएको छ। कागजी काम सकिएसँगै अब भौतिक काम सुरु हुने प्रमुख विष्टले बताए। भ्याटबाहेक २ अर्ब २४ करोड ५६ लाख रूपैयाँमा उक्त सडक चारलेनको काम हुन लागेको हो। घोराहीको डिके पेट्रोलपम्पदेखि तुलसीपुरको हातीखौवासम्म चारलेन हुनेछ।
सडक २१ किलोमिटर ५८ मिटर रहेको छ। कालोपत्रको चौडाइ चारलेनको हुनेछ भने बीचमा बीचमा मेडिएन र दुवैतर्फ दुई/दुई लेनको सडक हुनेछ। सोही सडकको चौडाइ ३० मिटर हुनेछ। सडक अस्फाल्ड प्रविधिबाट कालोपत्र हुनेछ। त्यसमा ढुंगा, गिट्टी र बिटुमिन तार मिसाएर कालोपत्र गरिनेछ।
यसले सडकलाई थप मजबुत बनाउने जनाइएको छ। सम्झौता भएको मितिले ३६ महिनामा काम सक्ने गरी सम्झौता भएको प्रमुख विष्टले बताए। उनका अनुसार उक्त सडकबीचमा पर्ने सेवार खोला, हापुर खोला, ग्वारखोला र कालाखोलामा चारलेनको पुल निर्माणका लागि प्रक्रिया अघि बढिसकेको छ।
सोही सडक चारलेन बनाउनका लागि यसअघिको निर्माण कम्पनीले कम नगरेपछि ठेक्का रद्द गरिएको थियो। ठेक्का रद्द भएपछि २०८१ साउनदेखि नै प्रक्रिया सुरु गरिएको थियो। तत्कालीन अवस्थामा अर्थ मन्त्रालयको स्रोत सहमति तथा राष्ट्रिय योजना आयोगको मिति निर्णयानुसार तीन करोड ९९ लाख ४९ हजार रूपैयाँको बहुवर्षीय ठेक्का गर्ने सहमति भएको थियो। रासस