बिहीबार , असार १८ गते २०८३    
बिहीबार , असार १८ २०८३

लाबुबुको असाधारण सफलतापछि फिल्म सिरिजतिर पपमार्ट

सोमबार, कात्तिक २४ २०८२
लाबुबुको असाधारण सफलतापछि फिल्म सिरिजतिर पपमार्ट

संसारका ४० देशमा स्टोर नै रहेको छ। यतिमात्र होइन संसारकै धनी देशका ग्राहकमाझ चिनियाँ ब्राण्डलाई स्थापित गर्न पनि सफल भएको छ। चिनियाँहरू कपी गर्छन् र ब्राण्ड बनाउन सक्दैनन् भन्ने पश्चिमा मान्यतालाई पनि पपमार्टले चुनौति दिएको छ।

काठमाडौं- चिनियाँहरूले व्यापार साँच्चिकै चमत्कार गरिरहेका छन्। नियन्त्रित राजनीतिक व्यवस्था भएको चीनबाट कतिबेला के उत्पादन ल्याएर कुन कम्पनी रातारात विश्व बजारमा हिरो बनिदिन्छ भन्ने कुरा साँच्चिकै अनिश्चित छ। विश्‍व बजारमा चम्किएका चिनियाँ स्टार धनाढ्य तथा कम्पनीहरू छिटै हराएर जाने कथाको पाटो अर्कै छ तर पनि यस्ता कम्पनी र पात्रहरू बेलाबेलामा उदय भने हुन छाड्दैनन्। 

पछिल्लो समय यस्तै एउटा खेलौना निर्माता कम्पनी चम्कियो। लाबुबु खेलौनाले विश्वमा आतंक नै सिर्जना गरिदियो। एकै वर्षमा सयौँ गुणाको व्यापारिक आम्दानीमा सफलता हात पारेको पपमार्ट भन्ने कम्पनी स्थापनाको १५ वर्षपछि एकाएक विश्व बजारको अग्रपंक्तिमा आयो। 

एउटै खेलौना यति भाइरल भयो कि यसको खरिद गर्न मान्छेहरू लाइन लाग्नुपर्नेसम्मको अवस्था आयो। कार्टुनको आकृतिका यी खेलौनाहरू यसरी भाइरल बने कि माग धान्न नसकेपछि यसका हजारौँ कपी बजारमा आए। पपमार्ट संसारको सबैभन्दा मूल्यवान कम्पनीमा परेको छ। यसको बजार पुँजीकरण ३८ अर्ब डलर पुगेको छ। 

संसारका ४० देशमा यसको स्टोर नै रहेको छ। यतिमात्र होइन संसारकै धनी देशका ग्राहकमाझ चिनियाँ ब्राण्डलाई स्थापित गर्न पनि सफल भएको छ। चिनियाँहरू कपी गर्छन् र ब्राण्ड बनाउन सक्दैनन् भन्ने पश्चिमा मान्यतालाई पनि पपमार्टले चुनौती दिएको छ। 

तर लाबुबुको चर्चाको शिखर करिब अब सकिएको छ। यसको ओरालो यात्रा सुरू भइसकेको कतिपय बजार विश्लेषकले बताउन थालेका छन्। लाबुबुको मूल्यमा गिरावट आउन थालेपछि यसको व्यापारको नाफा घट्न थालेको छ। मिस्ट्री बक्सको हाइप पनि घट्न थालेपछि २१० डलरसम्म बिक्री भएको खेलौना अहिले एक सय डलरसम्म मूल्य झरेको छ। 

पपमार्टले लाबुबुबाट जसरी ब्राण्डिङ र नाफा गर्न सफल भयो के यही एउटा उत्पादनमा सीमित रहन्छ त? पक्कै पनि हुनेछैन। सयौँ सफल अमेरिकी कम्पनीहरूकै मार्गमा यो अघि बढ्न थालेको छ।

पपमार्टले चीनमा थिमेटिक पार्क बनाएको छ जहाँ लाबुबुका क्यारेक्टर हेर्न र अन्तरक्रिया पनि गर्न सकिनेछ। यो अन्यत्र पनि विस्तार गरेर कम्पनीले आफ्नो बर्चस्व बढाउन थाल्नेछ। 

त्यस्तै पपमार्टले अब एनिमेसन फिल्म सिरिज ल्याउने तयारी गरेको छ। यसका लागि स्टुडियो पनि बनाइसकेको छ। जसरी लाबुबु भाइरल बनेको थियो त्यसैगरी सिरिजबाट पनि अर्को सफलता हात पार्ने कम्पनीको विश्वास छ। 


प्रकाशित : सोमबार, कात्तिक २४ २०८२१३:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend