काठमाडौं- आठ वर्ष अघिको जग्गा भाडामा दिने प्रक्रियामा सहभागी भएको भन्दै नेपाल ट्रष्टको तत्कालीन सहसचिव लेखबहादुर कार्की पक्राउ परेपछि भाडामा लिने कम्पनी थामसेर्कु ट्रेकिङ प्रालिले विज्ञप्ति निकाल्दै प्रष्टीकरण दिएको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अनुसन्धानका लागि भन्दै सो प्रक्रियमा सहभागी कर्मचारी पक्राउ परेको समाचार बाहिरिएपछि कम्पनीले उक्त विषयमा आफ्नो धारणा सार्वजनिक गरेको हो।
नेपाल ट्रष्टको नाममा रहेको दरबारमार्गको जग्गा कम्पनीले २०७४ साल जेठमा भाडामा लिने सम्झौता गरेको थियो।
२०७३ साल असारमा भाडामा लिन इच्छुकबाट नेपाल ट्रष्टले सार्वजनिक सूचना निकालेको थियो। सो सूचनाका आधारमा थामसेर्कुले १ अर्ब ५९ करोड रुपैयाँ कबोल गरेको थियो। ३० वर्षका लागि जग्गाको भाडामा लिएको जग्गाको १९ करोड भवन निर्माणको लागत र १ अर्ब ४० करोड १० लाख रुपैयाँ जग्गाको भाडाका लागि कबोल गरिएको कम्पनीले जनाएको छ।
महालेखा परीक्षकको कार्यालयले कैफियत देखाएपछि अख्तियारले अनुसन्धान गरेको र निरुपण भएपछि यो प्रकरण न्यायिक परीक्षण समेत भइसकेको कम्पनीले जानकारी दिएको छ। अख्तियारले कैफियत नभेटाएपछि यही विषयमा उच्च अदालत पाटनमा मुद्दा परेको थियो। उच्च अदालतबाटसमेत निरुपण भइसकेको कम्पनीले जानकारी दिएको छ।
‘सम्मानित उच्च अदालत पाटनमा मुद्दा परि उक्त मुद्दामा समेत फैसला भई न्याय निरुपण भइसकेको हामी सार्वजनिक अपिल गर्न चाहन्छौं’ विज्ञप्तिमा उल्लेख छ।