काठमाडौं- सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बैंकमा आबद्ध क्यूआर मर्चेन्टहरूका लागि नयाँ डिजिटल ऋण सुविधा 'सिटिजन्स क्यूआर मर्चेन्ट लोन' योजना सार्वजनिक गरेको छ।
यो योजना बैंकको डिजिटल बैंकिङ यात्राको अर्को महत्वपूर्ण कदम हो, जसको माध्यमबाट साना तथा मझौला व्यवसायीहरूलाई उनीहरूको क्यूआर कारोबार विवरणका आधारमा सहज, छिटो र पारदर्शीरुपमा ऋण सुविधा उपलब्ध गराइने बैंकले जनाएको छ।
सम्पूर्ण प्रक्रिया पूर्णरूपमा डिजिटल रहने भएकाले ग्राहकहरूले शाखामा उपस्थित नभइ मोबाइल वा अनलाइन माध्यमबाट नै ऋणको लागि आवेदन दिन र स्वीकृति प्राप्त गर्न सक्नेछन्। यस डिजिटल ऋण योजनाअन्तर्गत व्यवसाय कम्तीमा ६ महिना सिटिजन्स बैंकको क्यूआर मर्चेन्ट भएको हुनुपर्ने छ।
योग्य ग्राहकहरूले ६ महिनाको औसत मासिक क्यूआर कारोबार रकमको अधिकतम २५ प्रतिशतसम्म ऋण सुविधा प्राप्त गर्न सक्नेछन्। यो ऋण सुविधाअन्तर्गत न्यूनतम ५० हजार रूपैयाँदेखि अधिकतम ५ लाख रूपैयाँसम्म ऋण लिन सकिनेछ।
ऋण भुक्तानी मासिक किस्तामार्फत गर्नुपर्नेछ बैंकले यो नयाँ डिजिटल ऋण सुविधामार्फत साना तथा मझौला व्यवसायीहरूलाई वित्तीय पहुँच सहज बनाइ उनीहरूको व्यवसाय विस्तारमा सहयोग पुर्याउने विश्वास लिएको छ।
प्रमुख कर्जा अधिकृत तथा सहायक प्रमुख कार्यकारी अधिकृत सुमन मुलेपातिले 'क्यूआर मर्चेन्ट लोन' एउटा कोसेढुंगा भएको तथा यसले कर्जालाई सहजरूपमा ग्राहक र बैंकसँग जोड्ने बताए।