बिहीबार , असार १८ गते २०८३    
बिहीबार , असार १८ २०८३

रेमिट्यान्सको भरमा मात्र बाँच्ने अवस्थाबाट बाहिर निस्केर आफ्नै उत्पादन बढाउने अभियानमा छौँ : प्रधानमन्त्री

उद्यमीलाई आह्वान : डराउने होइन, बरु आत्मविश्वासका साथ अगाडि बढ्नुहोस्

शनिबार, कात्तिक २२ २०८२
रेमिट्यान्सको भरमा मात्र बाँच्ने अवस्थाबाट बाहिर निस्केर आफ्नै उत्पादन बढाउने अभियानमा छौँ : प्रधानमन्त्री

प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनमा सरकारसँगै निजी क्षेत्रले भोग्नुपरेको संकटको अवस्थाको चर्चा गर्दै उद्यमीलाई हौस्याउँदै आत्मविश्वासका साथ अगाडि बढ्न आह्वान गरिन्।

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले रेमिट्यान्सको भरमा मात्र बाँच्ने अवस्थाबाट बाहिर निस्केर आफ्नै उत्पादन बढाउने अभियानमा सरकार लागेको बताएको छिन्। शनिबार सम्पन्न 'राष्ट्रिय आर्थिक बहस २.०' मा प्रधानमन्त्री कार्कीले विज्ञहरूको सुझावअनुसार बजारमा तरलता बढाउन र रोजगारी सिर्जना गरर्नेगरी पुँजीगत खर्चलाई तीव्र बनाउन लागिएको बताइन्।

'हामीले नेपाल राष्ट्र बैंकसँग मिलेर बैंक तथा वित्तीय क्षेत्रको स्थिरताका लागि कडा कदम चालेका छौँ र व्यवसाय गर्ने वातावरण सुधार गर्न नीतिगत जटिलताहरू हटाउँदैछौँ। जलविद्युत, पर्यटन र कृषिमा रहेको ठूलो अवसरलाई केन्द्रमा राखेर हामी नीति बनाउँदैछौँ', प्रम कार्कीले भनिन्।

प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनमा सरकारसँगै निजी क्षेत्रले भोग्नुपरेको संकटको अवस्थाको चर्चा गर्दै उद्यमीलाई हौस्याउँदै आत्मविश्वासका साथ अगाडि बढ्न आह्वान गरिन्।

'म सबै उद्यमी, किसान र युवाहरूलाई आह्वान गर्न चाहन्छु, डराउने होइन, बरु आत्मविश्वासका साथ अगाडि बढ्नुहोस्! तपाईँहरूले आशंका र भय पाल्ने बेला होइन। हातेमालो गर्ने बेला हो। विभिन्न अध्ययनले हाम्रो आर्थिक वृद्धिदर बढ्ने र महँगी घट्ने संकेत दिएका छन्, जसले हाम्रो प्रयास सही दिशामा छ भन्ने देखाउँछ। हामीले हिजोभन्दा राम्रो भोलि बनाउन एकजुट हुनेछौँ', उनले भनिन्।

आफ्नो देश आफैले नबनाए कसैले आएर नबनाइदिने भन्दै उनले सबैलाई हातेमालो गरी देश विकासमा अग्रसर हुन पनि प्रम कार्कीको आग्रह छ। उनले भनिन्, 'हामी नै अग्रसर हुने हो। हाम्रा सन्ततिका निम्ति पनि यो देश बस्नलायक छ भनेर ढुक्क हुने अवस्था हामीले नै बनाउने हो।'

यस्तै, प्रम कार्कीले हाम्रो अर्थतन्त्रको जग (रेमिट्यान्स, प्राकृतिक स्रोत, पर्यटन) बलियो हुँदाहुँदै पनि संरचनागत कमजोरी र पुँजी पलायनका कारण हामीले मेहनतअनुसारको फल पाउन नसकिरहेको बताइन्।

'युवाहरूले देशमा काम पाउन नसकेर बिदेसिनु परेको, उद्योगधन्दामा लगानी बढ्न नसकेको र बैंकहरूको ऋण नउठ्ने समस्याले समग्र बजारमा एक किसिमको निराशा छाएको यथार्थलाई सरकारले स्वीकार गर्दछ। हामीले पछिल्ला दशकहरूमा धेरै हन्डरठक्कर खाएका छौँ- सशस्त्र द्वन्द्व, भूकम्प, महामारी, बाढीपहिरो। यी प्रत्येक अप्ठ्यारासँग हामी मिलेर जुध्यौँ, तर अहिलेको चुनौती फरक छ; यो आत्मविश्वास र सुशासनसँग जोडिएको छ', उनले भनिन्।

सुशासन कुनै पनि मुलुकको सामाजिक न्याय र आर्थिक वृद्धिको पूर्वशर्त भएको भन्दै उनले चुनौतीहरू सामना गर्न स्पष्ट कार्यदिशा लिएको बताइन्। समृद्धिको अर्थात् सबै क्षेत्रको सामूहिक वृद्धिका लागि सप्रिनेबाहेक अझ बिग्रने छुट नभएको उनको भनाइ छ।

राजकीय सम्पत्तिमाथि राजनीतिक आवरणमा भएका लुट र निजी क्षेत्रमाथि लादिएका शंका र दोहनकारी संकटपूर्ण प्रणालीप्रति सरकार सजग रहेको भन्दै उनले कानूनको शासन स्थापित गर्न सरकारले कुनै कसर बाँकी नराख्ने पनि बताइन्। सुरक्षाको प्रत्याभूति दिन सम्पूर्ण शक्तिका साथ सरकार लागेको उनको भनाइ छ।

'उद्योगी व्यवसायीहरू केवल राज्यलाई कर मात्र तिरेका हुँदैनन्, उनीहरूले ठूलो जनसङ्ख्यालाई रोजगारी र सामाजिक सुरक्षाको सुनिश्चितता दिएर राज्यको ठूलो दायित्व पनि बहन गरिदिएका हुन्छन्। तसर्थ, उद्योग-व्यवसायबिना देश बन्दैन। उद्योगीको मनोबल नउठेसम्म अर्थव्यवस्था उठ्न सक्दैन', प्रधानमन्त्री कार्कीको भनाइ छ।

साथै उनले आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचनको तयारीमा सरकार जुटेको बताउँदै निर्वाचनमार्फत दिगो लोकतान्त्रिक प्रक्रियामा मुलुक अगाडि बढाउने र 'यहीँ नै गरी खान सकिन्छ' भन्ने आशा जगाउँदै त्यसका लागि उपयुक्त वातावरण बनाउन प्रयासरत रहेको जानकारी गराइन्।


प्रकाशित : शनिबार, कात्तिक २२ २०८२१७:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend