काठमाडौं- अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रलाई मुलुकको विकास र रोजगारी सिर्जनामा साझेदार मान्दै तत्काल सहकार्य सुरु गरिएको बताएका छन्।
नेपाल उद्योग वाणिज्य महासंघको आर्थिक बहस २.० कार्यक्रममा उनले व्यवसाय पुनरुत्थानदेखि राजस्व सुधारसम्मका काम तीव्र गतिमा भइरहेको जानकारी दिए।
उनले मन्त्रिपरिषद् गठनको भोलिपल्टै निजी क्षेत्रका अगुवासँग संवाद सुरु गरी सात दिनभित्रै ‘बिजनेस रिकभरी प्लान’ तयार गरिएको उल्लेख गरे।
‘मुलुकको विकास, रोजगारी सिर्जना र देशलाई सुदृढ बनाउन निजी क्षेत्र साझेदार हो, उनीहरूसँग सहकार्य आवश्यक छ,’ उनले भने।
खनालले आश्वासन मात्रले देश नबन्ने भन्दै अर्थ मन्त्रालयमा सुनुवाइ, छलफल, निर्णय र तुरुन्त कार्यान्वयन हुने प्रणाली लागू गरिएको बताए।
उनले युवा विदेश पलायन रोक्न सुशासन अपरिहार्य भएको उल्लेख गर्दै प्रशासनिक लागत घटाउने र लेखापरीक्षणमा व्यवसायीलाई अनावश्यक भार नपर्नेगरी दसैंअघि निर्णय भएको जानकारी दिए।
उनले भ्रष्टाचार घटाउन मानवीय सम्पर्क कम गर्ने नीति अपनाइएको र राष्ट्रिय सम्पत्तिको संरक्षणमा सबै लाग्नुपर्नेमा जोड दिए।
साथै तोड़फोड र उत्तेजना बन्द गरी शान्तिपूर्ण आन्दोलन गर्न सरकार र निजी क्षेत्रले संयुक्त आवाज उठाउनुपर्ने आह्वान पनि गरे।
खनालले गलत सूचना फैलाउने र झूटा माग राख्ने प्रवृत्तिलाई लुटपाट सरह भएको बताउँदै यसप्रति सचेत रहन आग्रह गरे।