विराटनगर- मोरङ उद्योग व्यापार संघले पछिल्लो व्यावसायिक गतिविधिलाई चासो दिएर गतिविधि गरिरहेको छ। स्थानीय उद्योगी व्यापारीसँग संवाद गरेको संघले अर्थमन्त्री रामेश्वर खनाललाई भेटेरै ध्यानाकर्षण गरायो।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि व्यावसायिक मनोबल कमजोर बनेको अवस्थामा संवाद र सहकार्यलाई प्राथमिकता दिइएको संघका अध्यक्ष अनुपम राठीले बताएका छन्।
पछिल्लो अवस्थामा नयाँ लगानी ल्याउने सम्भावना नभएको बताउँदै उनले भएको उद्योगहरू कसरी टिकाउने भन्ने नै समस्या भएको बताए। अर्थमन्त्री खनालप्रति विश्वास गरेका राठी ऊर्जामन्त्री कुलमान घिसिङले भएका उद्योगीलाई मात्र होइन लगानीको वातावरण नै बिगार्ने काम गरेको गुनासो गर्छन्।
नेपाल विद्युत् प्राधिकरणले पुरानो बक्यौता बाँकी रहेको भन्दै विभिन्न उद्योगको लाइन काटेको थियो। केही रकम तिरेर लाइन सुचारु भएपनि उद्योगीहरू निराश भएका छन्। उद्योगको लाइन काटेर गलत प्रचार भइरहेकोप्रति समेत राठीले असन्तुष्टि व्यक्त गरेका छन्।
‘उद्योगीले डाटा मागेका छन्। बिल मागेका छन्। बिल नदिने र अनुमानको भरमा मौखिकरूपमा तिर्न बाँकी छ भन्ने हल्ला गर्नु राम्रो हैन,’ मन्त्रीको व्यवहारप्रति आक्रोशित हुँदै उनले भने, ‘कति बाँकी छ कहिलेको बाँकी छ भन्ने प्रस्ट हिसाब त चाहियो नि! उद्योगीहरू तिर्न तयार नै छन्। ऊर्जामन्त्रीले मन्त्री बन्नेबित्तिकै यस्तो व्यवहार गर्दा राम्रो देखिएको छैन। मन्त्रीज्यूको रबैयाले उद्योगी व्यवसायीलाई आतंकित बनाइएको छ। सस्तो लोकप्रियताको लागि उद्योगीलाई कमजोर बनाउने काम गर्नुहुन्न। प्राधिकरणले कुन दिन कति विद्युत् प्रयोग भयो भन्ने हिसाब दिनुपर्यो।’
खुल्ला नाकाबाट हुने चोरी पैठारी र तस्करीको विषयमा सरकारको बारम्बार ध्यानाकर्षण गराएको संघले वर्तमान सरकारसँग पनि त्यही अपेक्षा गरेको छ। खुल्ला सिमानाको कारण तस्करी बढिरहेको बताएका उनले अझै बढ्न सक्ने आशंका व्यक्त गरेका छन्।
राठीले भने, ‘भारत सरकारले जीएसटी (गुड एन्ड सर्भिस ट्याक्स)मा परिवर्तन गरेको छ। जसले भारतमा सामान सस्तो हुने देखिएको छ। यसले झनै चोरी पैठारीको बाटो खुल्ला गर्छ। अर्थमन्त्रीले पनि धेरै नीतिगत कुरा नचलाउने बताउनुभएकाले अब के होला भन्ने डर लागेको छ।’
उद्योगी व्यापारीको मनोबल बढाउन मोरङ उद्योग व्यापार संघले के गर्यो भन्ने बिजनेस न्युजको प्रश्नले राठीले भने, ‘हामीले छलफल जारी राखेका छौँ। धेरै हतोत्साहित नहुन आग्रह गरेका छौँ। सरकार र व्यापारीबीचमा समन्वयको काम गरेका छौँ। भोलिको दिन राम्रै हुन्छ भन्ने आशा जगाउँदै विगतमा भएका दुर्घटनालाई बिर्सिएर थप ऊर्जाशील हुनुपर्ने बताएका छौँ। तर व्यवसायी साथीहरूमा पहिलाको जस्तो आत्मविश्वास छैन।’

.jpeg)