पर्सा- वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको तीन महिनामा २ खर्ब १८ अर्ब १० करोड मूल्य पर्ने को सामान आयात भएका छन्।
गत आवको तीन महिनाको तुलनामा चालु आवको सोही अवधिमा आयात १९ प्रतिशत वृद्धि अर्थात् ३४ अर्ब २३ करोड रूपैयाँभन्दा बढीका सामान आयात भएको छ।
वीरगञ्ज भन्सार कार्यालयका अनुसार गत आवको तीन महिनाको अवधिमा भने १ खर्ब ८३ अर्ब ८७ करोड रूपैयाँ मूल्य बराबरका वस्तु तथा सामान भित्रिएको थियो। वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले वीरगञ्ज नाका हुँदै चालु आवको तीन महिनामा आयात ह्वात्तै बढेको जानकारी दिए।
वीरगञ्ज नाका हुँदै तीन महिनामा ३८ अर्ब ९ करोड रूपैयाँबरारको पेट्रोलियम पदार्थ आयात भएको छ भने १९ अर्ब ८४ करोड रूपैयाँबराबरका फलाम तथा फलामबाट बनेका सामान आयात भएका छन्।
सोही अवधिमा १५ अर्ब ५७ करोड रूपैयाँबराबर मेसिनरी तथा पार्टपुर्जा आयात भएको छ।
यस्तै, १४ अर्ब ८० करोडको भटमासको कच्चा तेल, १२ अर्ब ८१ करोडको मलखाद आयात भएको छ। यसैगरी, १२ अर्ब १६ करोड मूल्य पर्ने सबै प्रकारका कपडा आयात भएको छ।
उक्त अवधिमा १२ अर्ब ६ करोड रूपैयाँबराबरको इलेक्ट्रिक मेसिनरी, उपकरण र तीनका पार्टपुजा आयात भएका छन्। सोही अवधिमा १० अर्ब १२ करोड मूल्य पर्ने यातायातका साधन र तिनका पार्टपुर्जा आयात भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ।