बिहीबार , असार १८ गते २०८३    
बिहीबार , असार १८ २०८३

नोट छपाइमा चिनियाँ कम्पनीकै एकछत्र, हजारको नोटको जिम्मा पनि चाइना बैंक नोट प्रिन्टिङकै हातमा

शुक्रबार, कात्तिक २१ २०८२
नोट छपाइमा चिनियाँ कम्पनीकै एकछत्र, हजारको नोटको जिम्मा पनि चाइना बैंक नोट प्रिन्टिङकै हातमा

पछिल्लो समय नोट छपाइमा युरोपियन कम्पनी विस्थापित भएका छन्। यसअघि डा. चिरञ्जिवी नेपाल गभर्नर हुँदासम्म युरोपियन कम्पनीले नोट छपाइको टेन्डर जित्दै आएका थिए।

काठमाडौं- नेपालको नोट छपाइमा एउटा चिनियाँ कम्पनीले एकाधिकार कायम गर्दै गएको छ। पछिल्लो पाँचवटै टेण्डर चीनकै कम्पनीले हात पारेको हो। 

नेपाल राष्ट्र बैंकले नोट छपाइका लागि भनेर आह्वान गरेका पछिल्लो अन्तर्राष्ट्रिय टेन्डर हजार रुपैयाँको नोट छपाइका लागि थियो। यो पनि  चिनियाँ कम्पनी ‘चाइना बैंक नोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेसन’ले हात पारेको छ। 

यही कम्पनीले पछिल्लो चार वर्षमा भएका ७ वटा नोट छपाइका टेन्डरमा पाँचवटा जितेको छ। कम्पनीले हजार रुपैयाँ दरका ४३ करोड थान नोट छपाइका लागि १ करोड ६९ लाख ८५ हजार अमेरिकी डलर कबोल गर्दै टेण्डर हात पारेको हो। 

चिनियाँ सरकारको स्वामित्वमा रहेको र चीनकै सबैभन्दा पुरानो मिन्टिङ फ्याक्ट्रीसमेत रहेको यो कम्पनीले संसारकै सबैभन्दा धेरै नोट छपाइ गर्छ। यसअघि विभिन्न समयका टेन्डरमा फरक-फरक कम्पनीको हातमा टेन्डर पुगेपनि पछिल्लो समयका सातवटा टेण्डरमा यही कम्पनीले अधिकांश हात पारेको हो। 

यसअघि १० रुपैयाँ, २० रुपैयाँ, १०० रुपैयाँ र ५० रुपैयाँका नोट छाप्ने जिम्मा पनि यही कम्पनीले हात पारेको थियो। नेपालमै नोट छाप्ने बहस हुन थालेको दुई दशक भएपनि पछिल्लो समय छिमेकी देशका कम्पनी प्रभावी हुँदै आएका छन्। 

पछिल्लो समय नोट छपाइमा युरोपियन कम्पनी विस्थापित भएका छन्। यसअघि डा. चिरञ्जिवी नेपाल गभर्नर हुँदासम्म युरोपियन कम्पनीले नोट छपाइको टेन्डर जित्दै आएका थिए। पछिल्लो समय भने चिनियाँ कम्पनीले यस्तो टेण्डर जित्दै आएका छन्।

यसभन्दा पहिला फ्रेन्च, बेलायत, पोलिस कम्पनीहरूले नोट छपाइ गर्दै आएका थिए। छपाइका लागि न्यून लागत प्रस्ताव गर्ने कम्पनीले पाउँछन्। प्रतिस्पर्धामा टिक्न नसकेपछि युरोपियन कम्पनीहरू पाखा लाग्दै आएका छन्। 


प्रकाशित : शुक्रबार, कात्तिक २१ २०८२१५:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend