भोजपुर- किराँत सभ्यतासँग जोडिएको सम्पदा मुन्धुम क्षेत्रका जीवन्त उकालीओराली कठिन यात्राबीच मनमोहक छ। पूर्वीपहाडी जिल्ला खोटाङ, भोजपुर, सोलुखुम्बू तथा संखुवासभा सीमामा पर्ने मुन्धुम पदमार्ग किराँत समुदायको ऐतिहासिकतासँग सम्बन्धित छ।
सन् २०१८ मा सुरु गरिएको मन्धुम पदमार्गमा हरिया घाँसे मैदानदेखि जंगल र निर्जन उकाली ओराली पार गर्नुपर्छ। कतै घरबास त कतै गोठबासको सुविधा यो पदमार्गमा पाइन्छ। साल्पालगायतका केही स्थानमा सामान्य होटलहरू पनि सञ्चालनमा छन्।
किराँतको प्रागऐतिहासिक थलो साल्पापोखरी र सिलिचुङ पवित्र तीर्थस्थल भएकाले मुन्धुममा वर्णित सांस्कृतिक पात्रहरू, मूल्य मान्यता र जनविश्वास प्रतिविम्बित हुने गरी विकासका काम भइरहेका छन्। स्थानीयहरू साल्पापोखरीलाई देवीहरूले बसोबास गरेको ठाउँ मान्छन्। किराँत मिथकका मुख्य दुई पात्र सुम्निमा र पारुहाङका कथा साल्पापोखरीसँग जोडिएका छन्।
मध्यपहाडी लोकमार्गमा पर्ने चखेवाको हरियाँ फाँटबाट उक्लिएसँगै मुन्धुम पदयात्रा सुरु हुन्छ। २ हजार ३ सय ५१ मिटर उचाइको चखेवा भञ्ज्याङदेखि ३ हजार ७ सय ५० मिटरको साल्पापोखरी तथा ४ हजार १ सय ५३ मिटर उचाइमा रहेको सिलिचुङ चुचुरोसम्म पुग्न सकिन्छ।
पदयात्रीलाई सहज होस् भनेर प्राय बाटोमा ढुंगा छापिएका छन्। लौरेको कठिन उकालोले भने विकासको बाटो भेटेको छैन। फूल फुल्ने याममा जाने हो भने दर्जनौँ प्रजातिका गुराँस हेर्न सकिने पदमार्गमा चाँप, कटुसका घना जंगल र विभिन्न जडीबुटीहरू पनि देखिन्छन्। बाँसका पोथ्रा प्रशस्त भेटिने बाटोमा हिँडिरहँदा रेडपाण्डासँगको जम्काभेट सामान्य भइदिन सक्छ।
मुन्धुम पदमार्गमा ८,८४८.८६ मिटरको सगरमाथा, ८,५१६ मिटरको ल्होत्से, ८,३८२ मिटरको ल्होत्से शार, ८,४६३ मिटरको मकालु, ८,१८८ मिटरको चोयु र ८,५८६ मिटर अग्लो कञ्चनजंघा जस्ता हिमाल अवलोकन गर्न पाइन्छ। यात्रामा कतैकतै कर्योलुङ, नुम्बर, अमादम्ब्लम, थामसेर्कु, काङतेङ, बरुत्सेजस्ता हिमाल पनि झुल्किन्छन्।