बिहीबार , असार १८ गते २०८३    
बिहीबार , असार १८ २०८३

विश्वकै पहिलो ट्रिलेनियर बन्ने बाटोमा मस्क, टेस्लाका सेयरधनीद्वारा १ ट्रिलियन डलरको भुक्तानी प्याकेज स्वीकृत

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, कात्तिक २१ २०८२
विश्वकै पहिलो ट्रिलेनियर बन्ने बाटोमा मस्क, टेस्लाका सेयरधनीद्वारा १ ट्रिलियन डलरको भुक्तानी प्याकेज स्वीकृत

टेस्लाले आफ्नो वार्षिक सेयरधनीहरुको बैठकमा यस भुक्तानी प्याकेजको पक्षमा ७५ प्रतिशतभन्दा बढी सेयरधनीले मतदान गरेको घोषणा गरेको छ।

काठमाडौं- वर्तमान विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्क पहिलो ट्रिलेनियर (१० खर्बका मालिक) बन्ने भएका छन्। अमेरिकी व्यापारी एलन मस्क विश्वको चर्चित विद्युतीय कार उत्पादक कम्पनी टेस्ला, स्पेस कम्पनी स्पेसएक्स, सामाजिक सञ्जाल एक्स (पहिलेको ट्वीटर) साथै एक्स एआईका संस्थापक हुन्। 

मस्कको कम्पनी टेस्ला बजार पुँजीकरणका आधारमा ठूलो कम्पनीमध्येमा पर्छ। टेस्लाका सेयरधनीहरूले बिहीबार कम्पनीका सीईओ एलोन मस्कको भुक्तानी प्याकेज अनुमोदन गरेका हुन्। यस अनुमोदनले विश्वकै सबैभन्दा धनी व्यक्ति मस्कलाई विश्वको पहिलो ‘ट्रिलियनियर’ बनाउन सक्ने प्रक्षेपण भइरहेका छन्। 

टेस्लाले आफ्नो सेयरधनीहरूको वार्षिक बैठकमा यस भुक्तानी प्याकेजको पक्षमा ७५ प्रतिशतभन्दा बढी सेयरधनीले मतदान गरेको घोषणा गरेको छ। यस मतदानमा मस्कले पहिले नै स्वामित्वमा राखेको कम्पनीको १५ प्रतिशत हिस्सा समावेश गरिएको थिएन।

मतदानको नतिजा घोषणा हुँदा बैठकमा उपस्थितहरूले खुसी र उत्साह व्यक्त गरेका थिए। मस्कले तुरुन्तै सेयरधनी र टेस्ला बोर्डलाई धन्यवाद दिएका थिए। उनले भनेका थिए, ‘म यसको निकै प्रशंसा गर्छु।’

स्टक अनुदानको रुपमा भुक्तानी

मस्कले टेस्ला इंकबाट कुनै तलब लिँदैनन्, तर स्वीकृत भएको यो भुक्तानी प्याकेज एक स्टक अनुदानको रुपमा आउँछ, जसले उनलाई अर्काे १० वर्षमा ४२ करोड ३७ लाखसम्म टेस्लाका थप सेयर दिन सक्ने व्यवस्था रहेको छ।

टेस्ला इंकको बजार पुँजीकरण ८.५ ट्रिलियन (८५ खर्ब) डलर पुगेमा मस्कले पूर्ण सम्भावित भुक्तानीका लागि योग्यता प्राप्त गर्नेछन्। लगानीकर्ताहरूले पास गरेको प्याकेजअनुसार मस्कले पाउने सेयरको मूल्य लगभग १ ट्रिलियन (१० खर्ब डलर) हुने बताइएको छ। साथै मस्कले बोर्डले पारित गरेको पूर्ण संख्यामा सेयर प्राप्त गर्नका लागि टेस्लाले सञ्चालन वा वित्तीय लक्ष्य प्राप्त गर्नुपर्नेछ। 

आगामी १० वर्षमा यस प्याकेज अन्तर्गत उपलब्ध सबै सेयरहरू प्राप्त गर्नु भनेको दैनिक २ सय ७५ मिलियन डलर कमाउनुबराबर हुनेछ। यो भनेको इतिहासका कुनै पनि कार्यकारीले पाउने भुक्तानी प्याकेजमध्ये सबैभन्दा धेरै हुनेछ। 

सेयर वृद्धिका लागि महत्वाकांक्षी लक्ष्य

टेस्लालाई आवश्यक ८.५ ट्रिलियन बजार मूल्यमा पुग्नका लागि कम्पनीको सेयर मूल्य आजको मूल्यबाट ४ सय ६६ प्रतिशतले बढ्नु पर्नेछ। यो मूल्य गत साता ५ ट्रिलियन डलरको रेकर्ड बजार पुँजीकरणमा पुगेको विश्वको सबैभन्दा मूल्यवान कम्पनी एनभीडीयाभन्दा पनि लगभग ७० प्रतिशत बढी हो। 

ब्लूम्बर्गको अर्बपति सूचीका अनुसार मस्कको कुल सम्पत्ति पहिले नै अनुमानित ४ खर्ब ७३ अर्ब डलर रहेको छ, जसको अधिकांश हिस्सा टेस्लाका साथै स्पेसएक्स र एक्सएआईलगायतका अन्य कम्पनीहरूमा रहेको उनको हिस्सेदारीसमेत जोडेर पुगेको हो। 

यो भुक्तानी प्याकेज अस्वीकार भएको भए मस्कले टेस्लाको सीईओको पदबाट बाहिरिन सक्ने अनुमानसमेत गरिएको थियो। टेस्ला बोर्डका एक सदस्यलाई उद्धृत गर्दै सीएनएनले लेखेको छ- मस्कले यदि भुक्तानी प्याकेजले उनलाई नियन्त्रणको आश्वासन नदिएमा कम्पनी छोड्ने सम्भावना रहेको थियो। यद्यपि टेस्लाका लागि यो वर्ष कठिन रहेको छ। पहिलो अर्धवार्षिक अवधिमा बिक्री र नाफा घटेको छ र अमेरिकी सरकारले विद्युतीय सवारी साधनमा दिइएको ट्याक्स क्रेडिट हटाउँदा  टेस्लाले कार बिक्री कम हुँदा अबौँ डलर आम्दानी गुमाउने सम्भावनाको सामना गरिरहेको छ।

टेस्ला सेयरधनीहरूलाई सम्बोधन गर्दै मस्कले कम्पनीको कार व्यवसायको बारेमा भन्दा पनि रोबोटहरू (जो अझै बिक्रीमा आएका छैनन्) बारे बढी व्याख्या गरेका थिए। कारहरूको बारेमा उनको धेरैजसो सन्दर्भ पूर्ण स्वचालित कारका बारेमा थियो, जुन एक चालक सहायता सुविधा हो। स्वचालित कार बारे अझै पनि चालकहरूलाई सतर्क रहन र कारको नियन्त्रण लिन चालक नै तयार रहन आवश्यक रहँदै आएको छ। तर मस्कले रोबोट व्यवसाय कम्पनीको कार व्यवसाय वा अन्य कुनै पनि व्यवसायभन्दा पनि ठूलो हुने दाबी प्रस्तुत गरेका छन्। 

उनले टेस्लाका रोबोटहरूले सर्जनहरूलाई विस्थापित गर्न सक्ने, विश्वव्यापी गरीबीको अन्त्य गर्न सक्ने र विश्व अर्थतन्त्रको क्रमलाई पुनः आकार दिन सक्ने भविष्यवाणी पनि गरे। उनले दाबी गरे प्रत्येक रोबोट २० हजार डलरमा उत्पादन गर्न सकिन्छ, ती रोबोटहरू कारकै मूल्यमा बेच्न सक्नेगरी उत्पादन गर्ने दाबी गरे।  

रोबोटलगायत उत्पादनहरू र अवधारणाहरू अझै विकासको चरणमा छन् र बिक्रीमा आउन समय लाग्ने देखिन्छ। यसको मतलब भुक्तानी प्याकेज पारित भए पनि मस्कले भुक्तानी प्यागेज अन्तर्गतको सम्भावित लाखौँ सेयरहरू कहिले देख्नेछन् भन्ने निश्चित छैन। यो प्राप्त गर्न मस्कले कम्पनीका वर्तमान समस्याहरू सुधार्नुका साथै भविष्यका लागि गरेका ठूला प्रतिवद्धता पूरा गर्नुपर्नेछ।

मस्कले आफूलाई थप सम्पत्ति चाहिएकाले नभइ कम्पनीमा थप नियन्त्रण पाउनका लागि थप स्वामित्व आवश्यक भएकोमा जोड दिएका छन्।

‘म पैसा खर्च गर्न जाँदैछु भन्ने होइन,’ मस्कले गत महिना लगानीकर्ताहरूसँगको एक बैठकमा भनेका थिए, ‘मलाई कम्पनीमाथि बलियो प्रभावसहित मतको आवश्यकता छ। तर म पागल जसरी अनियन्त्रित भएमा मलाई बर्खास्त गर्न नसकिने गरी धेरै पनि होइन।’


प्रकाशित : शुक्रबार, कात्तिक २१ २०८२१२:०४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend