काठमाडौं- एभरेष्ट बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को प्रथम त्रैमासमा १ अर्ब १७ करोड ९३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत वर्षको सोही अवधिमा बैंकको नाफा १ अर्ब १२ करोड ७७ लाख रुपैयाँ रहेको थियो, जसअनुसार नाफा करिब ५ करोड रुपैयाँले बढेको हो।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २ अर्ब १३ करोड ९१ लाख रुपैयाँबाट बढेर २ अर्ब ४० करोड ३९ लाख रुपैयाँ पुगेको छ। कुल सञ्चालन आम्दानी २ अर्ब ६७ करोड ४१ लाख रुपैयाँबाट ३ अर्ब ११ करोड ३७ लाख रुपैयाँ पुगेको छ।
तर, सञ्चालन खर्च स्थिर रहँदा पनि सम्भावित कर्जा नोक्सानी व्यवस्थाका लागि प्रोभिजन बढ्दा नाफामा ठूलो वृद्धि हुन सकेन। बैंकले गत आवको प्रथम त्रैमासमा १० करोड ६७ लाख रुपैयाँ प्रोभिजन छुट्याएकोमा चालु त्रैमासमा ४२ करोड ३१ लाख रुपैयाँ प्रोभिजन छुट्याएको छ।
पहिलो तीन महिनामा बैंकको ग्राहक कर्जा २ खर्ब १३ अर्ब ४४ करोड रुपैयाँबाट २ खर्ब २७ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ भने निक्षेप २ खर्ब ९८ अर्ब ८१ करोड रुपैयाँबाट ३ खर्ब १३ अर्ब ८९ करोड रुपैयाँ पुगेको छ।
बैंकको चुक्ता पुँजी १२ अर्ब ९४ करोड ४७ लाख रुपैयाँ र सञ्चित नाफा ५ अर्ब ४९ करोड ६० लाख रुपैयाँ पुगेको छ। यसबाट २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिएको छ। समीक्षा अवधिमा प्रतिसेयर आम्दानी लाभांश समायोजन नहुँदा ३४ रुपैयाँ ८५ पैसाबाट बढेर ३६ रुपैयाँ ४४ पैसा पुगेको छ।
बैंकको प्रतिसेयर नेटवर्थ २५५ रुपैयाँ ६९ पैसा, मूल्य-आम्दानी अनुपात १७.५७ गुणा, पुँजीकोष अनुपात १२.७७ प्रतिशत र प्राथमिक पुँजीकोष अनुपात १०.०७ प्रतिशत रहेको छ। निष्क्रिय कर्जा ०.७४ प्रतिशत र आधार दर त्रैमासको औसत ४.८६ प्रतिशत रहेको छ। समीक्षा अवधिमा वितरणयोग्य नाफा ६० करोड २९ लाख रुपैयाँ कायम भएको छ।