काठमाडौं- एनएमबि बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार बैंकको खुद नाफा र प्रतिसेयर आम्दानी दुबै गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।
बैंकले पहिलो तीन महिनामा ९१ करोड ५९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। जुन गत वर्षको सोही अवधिको १ अर्ब १४ करोड रुपैयाँको तुलनामा २०.०४ प्रतिशतले कम हो। खुद नाफा घट्नुको मुख्य कारण इम्पेरमेन्ट चार्ज बढ्नु हो, जसले सञ्चालन मुनाफामा दबाब पारेको छ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २४.४९ प्रतिशत र खुद फि तथा कमिसन आम्दानी १४.३७ प्रतिशतले बढेको छ। कुल सञ्चालन आम्दानी २३.४७ प्रतिशतले वृद्धि भए पनि सञ्चालन मुनाफा १४.३१ प्रतिशतले घटेको छ। इम्पेरमेन्ट चार्ज ७१ करोड ३९ लाख रुपैयाँ पुगेकोले मुनाफामा गिरावट आएको हो। बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ९४ करोड रुपैयाँ रहेको छ।
समीक्षा अवधिमा प्रतिसेयर आम्दानी ५ रुपैयाँ घटेर १९ रुपैयाँ ९५ पैसा पुगेको छ। असोज मसान्तसम्म बैंकको प्रतिसेयर नेटवर्थ १७८ रुपैयाँ ६४ पैसा र मूल्य-आम्दानी अनुपात ११.७८ गुणा रहेको छ।
बैंकको चुक्ता पुँजी १८ अर्ब ३६ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा १४ अर्ब २६ करोड रुपैयाँ सञ्चित छ। असोज मसान्तसम्म बैंकले २ खर्ब ९० अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ३४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ।