काठमाडौं- माछापुच्छ्रे बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार बैंकको खुद नाफा र प्रतिसेयर आम्दानी दुबै गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।
बैंकले पहिलो तीन महिनामा ४१ करोड ७९ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन गत वर्षको सोही अवधिको ५० करोड ३२ लाख रुपैयाँको तुलनामा १६.९५ प्रतिशत कम हो। खुद नाफा घट्नुको मुख्य कारण खुद ब्याज आम्दानीमा १.६० प्रतिशतको गिरावट र इम्पेरमेन्ट चार्ज बढ्नु हो।
समीक्षा अवधिमा खुद फि तथा कमिसन आम्दानी २३.७० प्रतिशतले बढेको छ भने कुल सञ्चालन आम्दानी ६.२७ प्रतिशतले वृद्धि भएको छ। तर सञ्चालन मुनाफा ४०.१५ प्रतिशत घटेको छ। बैंकको इम्पेरमेन्ट चार्ज ४६ करोड ८ लाख रुपैयाँ पुगेकोले खुद नाफा र सञ्चालन मुनाफामा गिरावट आएको हो।
बैंकको वितरणयोग्य मुनाफा ११ करोड ४२ लाख रुपैयाँ ऋणात्मक रहेको छ। प्रतिसेयर आम्दानी २ रुपैयाँ ८३ पैसा घटेर १३ रुपैयाँ ८३ पैसा सीमित भएको छ। असोज मसान्तसम्म बैंकको प्रतिसेयर नेटवर्थ १५४ रुपैयाँ ६० पैसा र मूल्य-आम्दानी अनुपात १५.१४ गुणा रहेको छ।
बैंकको चुक्ता पुँजी १२ अर्ब ८ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ६ अर्ब ५७ करोड रुपैयाँ सञ्चित छ। असोज मसान्तसम्म बैंकले १ खर्ब ९३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ४८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ।