काठमाडौं- ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)ले विदेशी पर्यटकलाई अनिवार्यरुपमा पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) कार्ड लिएर सुरक्षित पदयात्रा जाने व्यवस्था गर्नुपर्ने बताएको छ।
टानका महासचिव सोनाम ग्याल्जेन शेर्पाले आज एक विज्ञप्ति जारी गरी विदेशी पर्यटकको हकमा अनिवार्यरुपमा टिम्स कार्ड लिएर मात्र सुरक्षित पदयात्रामा जाने व्यवस्था गर्न र नेपाली पदयात्रीको हकमा पदयात्रासम्बन्धी यथेष्ट जानकारी लिइ तयारीसहित पदयात्रामा जाने व्यवस्था मिलाउन सरकारलाई आग्रह गरेका हुन्।
टानले पदयात्री तथा पदयात्रामा खटिने श्रमिकको सुरक्षाका लागि सुरु गरिएको टिम्सको पूर्णरुपमा कार्यावयन हुन नसक्दा पदयात्रामा जाने विदेशी पर्यटक तथा सहयोगी सदस्यको गन्तव्य तथा लोकेसनको पहिचान गर्न र आवश्यक खोजी तथा उद्धार गर्न नसकिएको बताएको छ।
टानका अध्यक्ष सागर पाण्डेले बिना पूर्वतयारी र बिना पथप्रर्दशक पदयात्रामा जाने प्रवृत्तिका कारण स्वदेशी पदयात्रीले समेत विपद् तथा लेक लाग्ने समस्याका कारण ज्यान गुमाउने क्रम बढ्दै गएको बताए।
टानले पर्यटकको एकीकृत तथ्यांकको अभाव, समयसापेक्ष प्रविधिको प्रयोगमा संकुचनता, विपद् न्यूनिकरणका पूर्ण तयारीको अभाव, तत्काल खोज तथा उद्धारका लागि स्रोत र साधनको अभाव आदिका कारण विपद्का समयमा खेल्नुपर्ने भूमिका अपेक्षाकृत रुपमा खेल्न नसकिएको बताएको छ।
टानले अस्वाभाविक भारी वर्षा तथा अस्वाभाविक भारी वर्षा तथा हिमपातका कारण मनास्लु क्षेत्र, रोल्वालिङ क्षेत्रलगायतका पर्यटकीय गन्तव्यमा पिक आरोहण तथा पदयात्राका क्रममा ज्यान गुमाउने आरोही, पदयात्रीहरु तथा पथपर्दशकहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ता भइरहेका सम्पूर्ण पर्यटक, पथप्रर्दशक तथा सहयोगीको शीघ्र पहिचान, उद्धार एवम् सकुशल घर फीर्तिको कामना समेत गरेको छ।
साथै, खराब मौसमका कारण सिर्जित विपत्तिका कारण घाइते भएका सम्पूर्णप्रति शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। रासस