शुक्रबार, असार १९ गते २०८३    
शुक्रबार, असार १९ २०८३

११ अंकले घट्यो सेयर बजार, ५ अर्बमाथिको कारोबार

बिहीबार , कात्तिक २० २०८२
११ अंकले घट्यो सेयर बजार, ५ अर्बमाथिको कारोबार

७७ वटा कम्पनीको सेयर मूल्य बढेको बजारमा ५ अर्ब ४१ करोड ६९ लाख रूपैयाँको कारोबार भएको छ।

काठमाडौं- साताको अन्तिम कारोबार दिन सेयर बजारमा दोहोर अंकको गिरावट आएको छ। बिहीबार बजार ११.२९ अंकले घटेर २५९६.१२ बिन्दुमा ओर्लिएको छ।

७७ वटा कम्पनीको सेयर मूल्य बढेको बजारमा ५ अर्ब ४१ करोड ६९ लाख रूपैयाँको कारोबार भएको छ। आज १६५ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने ९ वटाको स्थिर छ।

साताभर उतारचढावमा रहेको बजारमा आइतबार ३०.७५ अंकको वृद्धि भएको थियो। सोमबार ८.२३ अंकले घटेकोमा मंगलबार पनि बजार २७.६५ अंकले ओरालो लागेको थियो।

बुधबार भने बजार १२.१७ अंकले बढेर बजार २६०७.४२ बिन्दुमा पुग्दा ४ अर्बमाथिको कारोबार भएको थियो।

आउँदो चुनावसम्म बजारले गति समात्ने विश्लेषकहरूले बताइरहेका छन्। सरकारले निजी क्षेत्रमैत्री विभिन्न नीतिका साथै पुँजी बजारलाई समेत विशेष ध्यान दिइरहँदा लगानीकर्ता भने पर्ख र हेरको अवस्थामा देखिन्छन्। 

गएको साउनमा देखिएको उछालपछि बजार धरमर गरिरहँदा बढ्दो ट्रेन्ड छायामा देखिएको थियो। बढ्दो बजारमा केही समय उतारचढाव हुनु स्वाभाविक नै मान्नुपर्ने विश्लेषकहरू बताउँछन्। बजारले नयाँ उचाइ भेट्न मुस्किल भइरहँदा केही लगानीकर्ता अतालिए भने केहीले सुझबुझपूर्ण 'स्टप लस हन्ट' गरे।

२०७८ भदौ २ गते कीर्तिमान बनेको हालसम्मकै उच्च ३१९९.०३ को बिन्दु पार हुने पर्खाइमा लगानीकर्ता लामो समयदेखि देखिन्छन्। गएको वर्ष साउन ३१ गते ३०००.८१ को बिन्दुसम्म पुगेको बजार त्यसयता उतारचढावमा देखिएकोमा गएको साउन १३ गते पनि ३००२.०८ बिन्दुसम्म पुगेको थियो।


प्रकाशित : बिहीबार , कात्तिक २० २०८२१५:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend