बर्दिया- मासु किन्न नसक्ने विपन्न वर्गका थारु समुदायले पहिलेपहिले चाडबाडका बेला माछा, घोँगी, गँगटा, सुतही मारेर चाड मनाउँथे। तर केही वर्षयता यस क्षेत्रका खेत, खोलानाला, तालतलैयामा घोँगी, गँगटा, सुतहीजस्ता माछा प्रजातिका जलचर पाइन छाडेका छन्।
बढैयाताल गाँउपालिका-५ जगतियाका ६० वर्षीय बलीराम थारु भन्छन्, 'पहिले धेरै मात्रमा घाेँगी, गँगटा, सुतही पाइन्थे। अहिले पाइनै छाडे।'
आधुनिक खेती प्रणालीले गर्दा खेतमा रासायनिक मल र विषादीको प्रयोग बढ्न थालेपछि खेत, नदी, खोलामै यी प्रजाति मासिन थालेको उनको अनुमान छ।सिमसार र तालतलैयाहरुमा पानी कम हुनु, सुक्खा क्षेत्र बढ्नुले पनि यी माछाका प्रजातिहरु कम हुँदै गएको हुनसक्ने उनी बताउँछन्।
पहिले स्थानीयले जाल तथा हेल्का वा हातले माछाको सिकार गर्थे। हिजोआज नदी, खोलानालाहरुमा विष हाल्ने, करेन्ट लगाउने चलन बढेपछि माछाका प्रजाति फस्टाउन नसकेको स्थानीय बताउँछन्। नेपालकै ठूलो ताल भनिने बढैयाताल १०७ विगाहमा फैलिएको छ। यो तालमा समेत दोहन हुन थालेपछि घोँगी, गँगटा, सुतही पाइन छाडेका छन्।
बढैयाताल गाँउपालिकाका अध्यक्ष हिमालय त्रिपाठीका अनुसार पहिलेको तुलनामा अहिले थोरै मात्रामा यी प्रजाति पाइन्छन्। 'तालमा पानी सुक्दै गएको छ, यहाँ आउने धेरै चराहरुले आहारा नपाउँदा चराहरुको बासस्थान समेत पाइन छोडेको छ। तालमा चराका चिरविर आवाज पनि सुनिन छाडेको छ।'
अर्कोतर्फ यसको संरक्षण भन्दा पनि बढी यस्ता प्रजाति मारेर बिक्री गर्ने चलन बढेपछि उनीहरुको बासस्थान नै मासिन थालेका हुन्। घोँगी, गँगटा, सुतहीको परिकार स्थानीय घरबास (होमस्टे) हरुमा पाहुनाका लागि आकर्षण भएपछि सिकारीहरु व्यावसायिकरुपमै यसको सिकार गर्न थालेका छन्।
यस क्षेत्रमा दुई थरिका घोँगी पाइन्छन्। गँगटा पाँच थरीका र सुतही दुई थरीका पाइन्छन्। बालविशेषज्ञ डा विश्वनाथ यादवका अनुसार घोँगी, गँगटा सुतहीमा प्रोटिन, क्याल्सियम पाइन्छ। जसले ग्यास्ट्राइटिसका लागिसमेत औषधिको काम गर्छ। हड्डी बलियो बनाउँछ। यिनै विशेषताबारे थाहा भएकाले पनि हुन सक्छ यसको उपभोग वृद्धि भइ यस्ता जलचर मासिन थालेको डा यादव बताउँछन्।
माछा प्रजातिका यी जलचरहरु लोप हुने क्रममा पुगेको एकीकृत कृषि विकास तथा पशुपक्षी विकास कार्यालय बर्दियाका प्रमुख कमला अधिकारी बताउँछिन्। उनले भने, 'पहिलेजस्तो खेती प्रणाली छैन। धानमा रासायनिक मलको प्रयोग गर्नु, विषादी प्रयोग गर्नु, नदी नालाहरुमा डोजर लगाएर ढुंगा गिट्टी उत्खन्न गर्दा यी प्रजातिको बासस्थानमा समेत खलल पुगेको छ।'
उनले विगतमाझैँ पानी पर्न छाडेपछि सिमसार क्षेत्र मासिँदा जलचरहरु मासिन थालेको बताए। पहिलेका तुलनामा हिजाआज १० प्रतिशत मात्र घोँगी पाइने उनको भनाइ छ। सरोकारवालाहरु भने माछा प्रजातिका यी जलचरहरुको संरक्षण गर्नुपर्ने बताउँछन्। रासस