बिहीबार , असार १८ गते २०८३    
बिहीबार , असार १८ २०८३

छार्का भेरोलमा अलपत्र परेका दुई पर्यटकको उद्धार

बिहीबार , कात्तिक २० २०८२
छार्का भेरोलमा अलपत्र परेका दुई पर्यटकको उद्धार

जिल्ला प्रशासन कार्यालय मुस्ताङको समन्वयमा इन्द्रबक्स गणको नेपाली सेनाको सहयोगमा एयर डाइनोष्टिक हेलिकप्टरमार्फत सकुशल उद्धार गरिएको हो।

मुस्ताङ- मुस्ताङ र डोल्पाको सिमाना छार्का भेरोलको हिउँमा फसेका दुईजना नेपाली पर्यटकको आज बिहान हेलिकप्टरमार्फत उद्धार गरिएको छ। जिल्ला प्रशासन कार्यालय मुस्ताङको समन्वयमा इन्द्रबक्स गणको नेपाली सेनाको सहयोगमा एयर डाइनोष्टिक हेलिकप्टरमार्फत सकुशल उद्धार गरिएको हो। 

पर्वतका मनिष जीसी र म्याग्दीका सन्तोष कुँवर भारी हिमपातका कारण मुस्ताङ र डोल्पाको सिमानामा फसेका जानकारी पाएपछि सेनासँगको समन्वयमा सकुशल उद्धार गरिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले जानकारी दिए। प्रतिकूल मौसम र भारी हिमपातका कारण उपल्लो डोल्पाको छार्कामा रोकिएका जीसी र कुँवर ६ दिनसम्म छार्कामा रोकिएका उनले बताए। 

यही कात्तिक ९ गते उपल्लो डोल्पाको भ्रमणमा निस्किएका दुवैजना पहिलो दिन मुस्ताङ वारागुङ मुक्तिक्षेत्र-५ साङ्ता गाउँमा बास बसेका थिए। त्यसपछि त्यहाँको साङ्ता गाउँ हुँदै उपल्लो डोल्पाको भ्रमणका लागि उपल्लो डोल्पाको छार्का पुगेका थिए।

हिमपात रोकिएर मुस्ताङ फर्किने पर्खाइमा रहेका जीसी र कुँवर कात्तिक १६ गते हिमपात रोकिएपछि त्यहाँबाट स्थानीय निर्माण व्यवसायी विकास रोकायासँगै छार्का हुँदै मुस्ताङ प्रस्थान गरेका थिए। दुईजना पर्यटकसँगै आएका रोकाया छार्का ब्यारेलबाट छुट्टिएका थिए।

रोकाया स्थानीय नागरिक भएकाले मुस्ताङको साङ्ता गाउँ पुगेपनि पर्यटकद्वय समुद्री सतहको पाँच हजार मिटर उचाइमा पर्ने छार्का ब्यारेलबाट पदमार्ग पहिचान गर्न नसक्दा चार दिनसम्म अलपत्र परेका प्रजिअ भुसालले उल्लेख गरे। उनका अनुसार रोकायाले सेटलाइट फोनमार्फत छार्का ब्यारेलमा दुई पर्यटक अलपत्र परेका स्थानीय प्रशासनलाई जानकारी गराएका थिए।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी भुसालले नेपाली सेनाको इन्द्रबक्स गणबाट दुईजना सेनाको टोली पुगेर हिमपातमा फसेका पर्यटकको हेलिकप्टरमार्फत सकुशल उद्धार गरिएको जानकारी दिए।

पर्यटक जीसीले उपल्लो डोल्पामा भारी हिमपात भएकाले आफूहरू चार दिनसम्म मुस्ताङ र डोल्पाको सिमानामा अलपत्र परेको बताए। उनका अनुसार रोकायाले दिएको जानकारीपश्चात् स्थानीय प्रशासन र सेनाले उद्धार गरेको हो। रासस


प्रकाशित : बिहीबार , कात्तिक २० २०८२१२:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend