बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

पदमार्ग निर्माण भएपछि अन्नपूर्ण आधार शिविर पुग्ने पर्यटकको चाप बढ्यो

बिहीबार , कात्तिक २० २०८२
पदमार्ग निर्माण भएपछि अन्नपूर्ण आधार शिविर पुग्ने पर्यटकको चाप बढ्यो

पदमार्ग सञ्चालनमा आएको छोटो अवधिमै यस क्षेत्रमा पर्यटकहरुको आगमन बढेपछि पर्यटन व्यवसायीहरु उत्साहित बनेका छन्।

बेनी- म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा दुई महिनाका अवधिमा १२ हजारभन्दा बढी आन्तरिक पर्यटकहरुले भ्रमण गरेका छन्। गत असोजदेखि कात्तिक तेस्रो सातासम्म यस क्षेत्रमा अत्यधिक रुपमा आन्तरिक पर्यटकहरुको चाप भएको थियो।

उक्त अवधिमा दैनिक दुईसयदेखि पाँचसयसम्म पर्यटकहरु यहाँ आएको अन्नपूर्ण प्रथम आधार शिविर पुग्ने ‘मौरिस हर्जोग’ पदमार्गअन्तर्गत हुमखोलामा होटल व्यवसाय गर्दै आएका पर्यटन व्यवसायी तेज गुरुङले जानकारी दिए। उनका अनुसार, दसैँ-तिहार र छठपर्व बिदाका अवसरमा अन्नपूर्ण आधार शिविरमा अहिलेसम्मकै धेरै पर्यटक आएका हुन्।

गतवर्षदेखि यस पदमार्गअन्तर्गत हुमखोला, फुतफुते झरना, साँधिखर्क, गुफाफाँट, भुसकेटमेला र पञ्चकुण्ड ताल परिसरमा पर्यटकहरुको सुविधाका लागि होटलहरु सञ्चालनमा आएका छन्। नारच्याङदेखि हुमखोलासम्म सडक सञ्जालको पहुँच पुगेको र त्यहाँबाट आधार शिविरसम्म केही पदमार्ग निर्माण भएकाले दुई दिनमै पदयात्रा पुरा गर्न सकिने भएपछि यस पदमार्ग अहिले आन्तरिक पर्यटकहरुका रोजाइमा छ।

पदमार्ग सञ्चालनमा आएको छोटो अवधिमै यस क्षेत्रमा पर्यटकहरुको आगमन बढेपछि पर्यटन व्यवसायीहरु उत्साहित बनेका छन्। अन्नपूर्ण आधार शिविरमा रहेको मनमोहक पञ्चकुण्ड ताल, पदमार्गमा पर्ने फुतफुतेलगायतका झरना, मिस्त्रीखोलाको रमणीय दृष्यहरु हेर्न देशका विभिन्न ठाउँबाट युवायुवतीहरुको यस क्षेत्रको भ्रमणमा आउनेक्रम बढेको छ।

अन्नपूर्ण प्रथम आधार शिविर क्षेत्रको प्राकृतिक सौन्दर्यताको प्रचार प्रसार,पूर्वाधार निर्माण र आधारभूत खान-बस्नको सुविधाले पर्यटकहरुको आगमन बढाएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भरतकुमार पुनले जानकारी दिए। उनका अनुसार, अन्नपूर्ण हिमाल आरोहण भएको ७५ वर्ष पूरा भएको अवसरमा गत वर्ष गाउँपालिकाको अगुवाइमा नारच्याङदेखि आधार शिविरमा मनाइएको ‘अन्नपूर्ण हीरक जयन्ती महोत्सव’ले यस क्षेत्रको प्रचारप्रसारमा व्यापकता गराएको हो।

उनले भने, 'अहिले आधार शिविर क्षेत्रमा रहेका होटलहरुको क्षमताभन्दा बढी पर्यटकहरुको आगमन भयो, हामीले यसलाई थप व्यवस्थित गर्नेतर्फ योजना बनाएका छौँ, भुसकेट मेलादेखि पञ्चकुण्ड तालको बीचमा पनि थप एक होटल सञ्चालनमा ल्याउनका लागि एक्यापसँग समन्वय गर्न लागेका छौँ, पर्यटकहरुको बसाइँलाई सहज बनाउनु हाम्रो पहिलो दायित्व हो।'

अन्नपूर्ण गाउँपालिकाले यस पदमार्गको आधार शिविर क्षेत्रमा सञ्चार र विद्युतको पहुँच पुर्‍याउन समेत आवश्यक पहल थालेको छ। पर्यटकहरुको आगमन बढेसँगै पदमार्ग र आधार शिविर क्षेत्रमा फोहोर बढेको कारण गाउँपालिकाले सरसफाइ अभियन्ताहरुको टोलीलाई आधार शिविरमा खटाउने तयारीसमेत गरेको गाउँपालिका अध्यक्ष पुनले जानकारी दिए।

अन्नपूर्ण आरोहण दिवसलाई निरन्तररुपमा मनाउने प्रबन्ध मिलाएको गाउँपालिकाले आधार शिविर पुग्ने पदमार्गलगायतका पूर्वाधार स्तरोन्नतिका लागि चालु आर्थिक वर्षमा विनियोजन गरेको २० लाख रूपैयाँ बजेट परिचालनगर्ने जनाएको छ। रासस


प्रकाशित : बिहीबार , कात्तिक २० २०८२१२:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend