बिहीबार , असार १८ गते २०८३    
बिहीबार , असार १८ २०८३

लगानीकर्ता सुरक्षित सम्पत्तितर्फ आकर्षित हुँदा अन्तर्राष्ट्रिय बजारमा पुनः बढ्यो सुनको मूल्य

बुधबार, कात्तिक १९ २०८२
लगानीकर्ता सुरक्षित सम्पत्तितर्फ आकर्षित हुँदा अन्तर्राष्ट्रिय बजारमा पुनः बढ्यो सुनको मूल्य

बुधबार स्पट गोल्डको मूल्य प्रतिऔँस ४ हजार अमेरिकी डलर नजिक पुगेको छ। यसअघि मंगलबार करिब २ प्रतिशतले घटेको सुन पुनः सुधारमा गएको हो।

काठमाडौं- विश्व सेयर बजारमा आएको गिरावट र लगानीकर्ताबीच जोखिम टार्ने मनोवृत्ति बढेपछि अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य पुनः उकालो लागेको छ।

अत्यधिक मूल्यांकन र अनिश्चित आर्थिक संकेतका कारण सेयर बजार ओरालो लागेपछि लगानीकर्ताले सुरक्षित सम्पत्ति (सेफ हेभन) का रूपमा सुन रोज्न थालेका हुन्। विश्लेषकहरूका अनुसार विश्व बजारमा जोखिमयुक्त सम्पत्तिबाट लगानी फिर्ता गरेर सुरक्षित विकल्पतर्फको झुकाव बढ्दै गएकाले निकट भविष्यमै सुनको मूल्यले पुनः नयाँ उचाइ छुन सक्ने सम्भावना रहेको जनाएका छन्।

बुधबार स्पट गोल्डको मूल्य प्रतिऔँस ४ हजार अमेरिकी डलर नजिक पुगेको छ। यसअघि मंगलबार करिब २ प्रतिशतले घटेको सुन पुनः सुधारमा गएको हो। अमेरिकी डलर सूचकांक लगातार पाँचौँ दिन बढेपछि सुनमा दबाब परेको भए पनि विश्व बजारमा देखिएको अस्थिरताले त्यसलाई सन्तुलित बनाएको विश्लेषकहरूको भनाइ छ।

केही दिनअघि अमेरिकी फेडरल रिजर्भका तीन अधिकारीहरूले डिसेम्बरमा पुनः ब्याजदर घटाउने सम्भावना न्यून रहेको संकेत दिएका थिए। उनीहरूले मुद्रास्फीति नियन्त्रण र कमजोर श्रम बजारबीचको सन्तुलनमा ध्यान दिने बताएका थिए। यसै सन्दर्भमा यस हप्ताभर फेडका अन्य वरिष्ठ अधिकारीहरूले पनि धारणा सार्वजनिक गर्नेछन्, जसले सुन बजारमा थप दिशा दिन सक्छ।

सुनको मूल्य यो वर्ष करिब ५० प्रतिशतले बढिसकेको छ। गत महिनामा नयाँ कीर्तिमान बनाएपछि आएको प्राकृतिक समायोजन (करेक्सन) क्रममा केही लगानीकर्ताले बुलियन-सम्बद्ध एक्सचेन्ज ट्रेडेड फन्डबाट पुँजी फिर्ता गरेका थिए। अहिले बजारले सो घटबढको स्थायित्व मूल्यांकन गरिरहेको छ।

टीडी सिक्युरिटीजका वरिष्ठ रणनीतिकार बार्ट मेलेकका अनुसार, ३ हजार ८ सयदेखि ४ हजार ५० डलरबीचको दायरामा सुन स्थिर रहनु स्वाभाविक हो। उनका अनुसार अमेरिकी केन्द्रीय बैंकको ब्याजदर नीतिमा अनिश्चितता र चीनमा खुद्रा खरिद कमजोर हुने चिन्ताले पनि मूल्यमा उतारचढाव ल्याएको छ।

'यो वर्ष सुनको मूल्य बढाउने मुख्य कारणहरू केन्द्रीय बैंकहरूको उच्च खरिद, निजी लगानीकर्ताको बलियो माग र आर्थिक अनिश्चितता अझै कायम छन्। त्यसैले मूल्य पुनः माथि जान सक्छ', उनको भनाइ छ।

सिंगापुरमा स्थानीय समयअनुसार दिउँसो १२:२७ बजेसम्ममा सुन ०.८ प्रतिशतले बढेर प्रतिऔँस ३ हजार ९ सय ६३.८७ डलरमा कारोबार भइरहेको ब्लूमबर्गले जनाएको छ।

त्यसैगरी चाँदीको मूल्य पनि ०.८ प्रतिशतले बढेको र प्यालाडियममा सानो वृद्धि देखिएको छ।

gold.jpg

 


प्रकाशित : बुधबार, कात्तिक १९ २०८२१२:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend