बिहीबार , असार १८ गते २०८३    
बिहीबार , असार १८ २०८३

बागलुङ-घोडाबाँधे सडक कालोपत्र नहुँदा यात्रुलाई सास्ती

मंगलबार, कात्तिक १८ २०८२
बागलुङ-घोडाबाँधे सडक कालोपत्र नहुँदा यात्रुलाई सास्ती

निर्माण कम्पनीले तत्काल काम नथालेमा स्थानीयले आगामी मङ्सिर १ गतेदेखि आन्दोलन गर्ने चेतावनी दिए छन्।

बागलुङ- राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङ-घोडाबाँधे खण्ड ट्रयाक खुलेको २५ वर्ष बित्दा पनि कालोपत्र नहुँदा स्थानीय र यात्रुले सास्ती खेप्दै आएका छन्। सडक हिउँदमा धुलो र बर्सातमा हिलो हुने गरेको छ।

निर्माण कम्पनीले तत्काल काम नथालेमा स्थानीयले आगामी मङ्सिर १ गतेदेखि आन्दोलन गर्ने चेतावनी दिए छन्। यसअघि आन्दोलन गरेका बिहुँवासीले सडक बन्ने आश्वासन पाएपछि पछि हटेका थिए। काठेखोला गाउँपालिका-५ र ६ का स्थानीयले प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङलाई भेटेर निर्माण कम्पनीले तत्काल काम नगरेमा सडक ठप्प पार्ने चेतावनी दिएका छन्।

स्थानीय कृष्ण कँडेलले भने, 'यो सडकले हामीलाई धेरै समस्या गरायो, सडक बन्ला बन्ला भन्ने आशामा यतिका वर्ष धैर्य भयौँ, धैर्य गर्दागर्दा आजित भइसक्यौँ, अब सडक निर्माणको काम थालिएन भने मङ्सिर १ गतेदेखि सडक अवरुद्ध गर्छौँ।'

विसं २०६८ देखि थालिएको लोकमार्ग आयोजनाको काम पटकपटक अलपत्र पर्दा यात्रीले सास्ती खेप्नुपरेको छ। सडकका कारण काठेखोला गाउँपालिका-१, २, ५ र ६ का घर, खेती र फलफूल समेत धुलोले पुरिने गरेको छ। किसानले डाले घाँससमेत पशुचौपायालाई खुवाउन नपाएको गुनासो गरे।

ठेकेदारलाई कालोसूचीमा राखेर नयाँ ठेक्का खुलाएको डेढ वर्ष पुग्न लाग्दा अझै काम अगाडि नबढेको काठेखोला गाउँपालिका-६ का अध्यक्ष बृहस्पति कँडेलले बताए। मध्यपहाडी लोकमार्ग बागलुङभित्र १४२ किलोमिटर छ। त्यसमध्ये अन्य खण्ड कालोपत्र भइसकेको छ। 

सो खण्डको काम सूर्य कन्स्ट्रक्सन कम्पनीले ठेक्का लिएको थियो। विसं २०७२ माघ १० को ठेक्काको काम नौ वर्षमा ५५ प्रतिशत प्रगति नगरेपछि कालोसूचीमा परेर रद्द भई गत वर्ष रिजाल तामाङ भगवती जेभीले ठेक्का लिएको थियो। विसं २०८१ असारमा सम्झौता गरी विसं २०८३ असारमा सक्ने सम्झौता गरेको एक वर्ष बितिसक्दा काम नथालेपछि स्थानीय आक्रोशित भएका हुन्। रासस


प्रकाशित : मंगलबार, कात्तिक १८ २०८२१६:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend