शुक्रबार, असार १९ गते २०८३    
शुक्रबार, असार १९ २०८३

उतारचढावमा सेयर बजार, पर्ख र हेरकै सोचमा लगानीकर्ता

२७ अंकले घट्यो, ५ अर्ब १५ करोड रुपैयाँको कारोबार

मंगलबार, कात्तिक १८ २०८२
उतारचढावमा सेयर बजार, पर्ख र हेरकै सोचमा लगानीकर्ता

काठमाडौं- गएको साता समग्रमा ९६.५३ अंकले बढेको सेयर बजार यो साता उतारचढावमा देखिएको छ। आइतबार ३०.७५ अंकले बढेको बजार सोमबार ८.२३ अंकले घटेकोमा मंगलबार पनि ओरालो नै लागेको छ।

आज मंगलबार २७.६५ अंकले घटेर बजार २५९५.२४ बिन्दुमा झरेको छ। ३३ कम्पनीको मात्र सेयर मूल्य बढेको बजारमा ५ अर्ब १५ करोड रुपैयाँको कारोबार भएको छ। २१३ कम्पनीको सेयर मूल्य घटेको छ भने ३ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन।  

गएको साता पहिलो कारोबारमा आइतबार ५.१९ अंकले बढेको बजार दोस्रो कारोबारमा मंगलबार ६२.२९ अंकले बढेको थियो। बुधबार ५.१७ अंकले घटेको बजार बिहीबार ३४.२२ अंकले बढेर २६००.३८ बिन्दुमा उक्लिएको थियो।

आउँदो चुनावसम्म बजारले गति समात्ने विश्लेषकहरूले बताइरहेका छन्। सरकारले निजी क्षेत्रमैत्री विभिन्न नीतिका साथै पुँजी बजारलाई समेत विशेष ध्यान दिइरहँदा लगानीकर्ता भने पर्ख र हेरको अवस्थामा देखिन्छन्। 

गएको साउनमा देखिएको उछालपछि बजार धरमर गरिरहँदा बढ्दो ट्रेन्ड छायामा देखिएको थियो। बढ्दो बजारमा केही समय उतारचढाव हुनु स्वाभाविक नै मान्नुपर्ने विश्लेषकहरू बताउँछन्। बजारले नयाँ उचाइ भेट्न मुस्किल भइरहँदा केही लगानीकर्ता अतालिए भने केहीले सुझबुझपूर्ण 'स्टप लस हन्ट' गरे।

२०७८ भदौ २ गते कीर्तिमान बनेको हालसम्मकै उच्च ३१९९.०३ को बिन्दु पार हुने पर्खाइमा लगानीकर्ता लामो समयदेखि देखिन्छन्। गएको वर्ष साउन ३१ गते ३०००.८१ को बिन्दुसम्म पुगेको बजार त्यसयता उतारचढावमा देखिएकोमा गएको साउन १३ गते पनि ३००२.०८ बिन्दुसम्म पुगेको थियो।


प्रकाशित : मंगलबार, कात्तिक १८ २०८२१५:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend