शुक्रबार, असार १९ गते २०८३    
शुक्रबार, असार १९ २०८३

तरलता थुप्रिएपछि वाणिज्य बैंकहरूको आधारदर ५ प्रतिशतबाट तल झर्‍यो, ऋण लिनेलाई ब्याजदर थप सस्तो

मंगलबार, कात्तिक १८ २०८२
तरलता थुप्रिएपछि वाणिज्य बैंकहरूको आधारदर ५ प्रतिशतबाट तल झर्‍यो, ऋण लिनेलाई ब्याजदर थप सस्तो

काठमाडौं- वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर घटाएर लागत कम गरेपछि आधारदर (बेस रेट) पनि थप घटेको छ। कर्जाको माग सुस्त हुँदा लगानीयोग्य रकम (तरलता) थुप्रिएर बैंकहरूमा रकम निष्क्रिय बसिरहेको कारणले निक्षेपको ब्याजदर घटेको हो।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार गत बुधबारसम्म बैंक तथा वित्तीय संस्थाहरूमा जम्मा निक्षेप ७४ खर्ब ७७ अर्ब रुपैयाँ पुगेको छ। ऋण लगानी भने ५६ खर्ब ३५ अर्बमा सीमित छ। वाणिज्य बैंकहरूको मात्रै निक्षेप ६७ खर्ब १९ अर्ब र ऋण लगानी ५० खर्ब ५२ अर्ब रुपैयाँ रहेको छ। यस अवस्थाले सीडी अनुपात (कुल निक्षेप र कर्जा अनुपात) ७४.५० प्रतिशतमा झरेको छ।

हाल प्रचलित प्रावधानअनुसार बैंकहरूले अधिकतम ९० प्रतिशतसम्म सीडी रेसियो कायम गर्न पाउने भए पनि कर्जाको माग नबढेकाले क्षमता प्रयोग हुन सकेको छैन। यसकारण करिब ८ खर्ब रुपैयाँभन्दा बढी रकम बैंकहरूले निष्क्रियरूपमा नेपाल राष्ट्र बैंकमा थुपारेका छन्।

निक्षेपको ब्याजदर घटेपछि त्यसको प्रत्यक्ष असर आधारदरमा परेको छ। हाल तीन वाणिज्य बैंकहरू स्टान्डर्ड चार्टर्ड, राष्ट्रिय वाणिज्य र एभरेष्ट बैंकका आधारदर ५ प्रतिशतभन्दा तल छ। स्टान्डर्ड चार्टर्ड बैंकको ४.६० प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको ४.६४ प्रतिशत र एभरेष्ट बैंक ४.८८ प्रतिशतमा झरेको छ।

अन्य वाणिज्य बैंकहरूको आधारदर पनि क्रमशः घट्दै गएको छ। नेपाल बैंकको आधारदर ५.२५ प्रतिशत, ग्लोबल आईएमईको ५.४ प्रतिशत, कृषि विकास बैंकको ५.४९ प्रतिशत, नबिलको ५.५८ प्रतिशत र सानिमा बैंकको ५.६८ प्रतिशत रहेको छ।

बैंकहरूले ऋणका लागि प्रायः आधारदरमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम थपेर ब्याजदर तोक्ने गर्छन्। पछिल्ला तीन महिनाको औसत आधारदरमा प्रिमियम जोडेर ग्राहकका लागि अन्तिम ब्याजदर निर्धारण गरिन्छ।

वाणिज्य बैंक आधारदर (प्रतिशतमा)

  • स्टान्डर्ड चार्टर्डः ४.६
  • राष्ट्रिय वाणिज्यः ४.६४
  • एभरेष्ट बैंक: ४.८८
  • नेपाल बैंकः ५.२५
  • ग्लोबल आइएमईः ५.४
  • कृषि विकासः ५.४९
  • नबिलः ५.५८
  • सानिमाः ५.६८
  • नेपाल इन्भेष्टमेन्ट मेगा: ५.६९
  • माछापुच्छ्रेः ५.८१
  • प्रभुः ५.८३
  • एनएमबिः ५.८९
  • सिद्धार्थः ५.९२
  • नेपाल एसबिआइः ५.९६
  • कुमारीः ६.०१
  • लक्ष्मी सनराइजः ६.०१
  • सिटिजन्सः ६.०५
  • हिमालयनः ६.०८
  • प्राइमः ६.२६
  • एनआईसी एसियाः ६.७६


प्रकाशित : मंगलबार, कात्तिक १८ २०८२१३:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend