बिहीबार , असार १८ गते २०८३    
बिहीबार , असार १८ २०८३

धर्मशालाबाट आन्तरिक राजस्व कार्यालय तुलसीपुरको सेवा थालनी

मंगलबार, कात्तिक १८ २०८२
धर्मशालाबाट आन्तरिक राजस्व कार्यालय तुलसीपुरको सेवा थालनी

भवनमा बस्न नमिल्ने भनी प्राविधिक टोलीले सुझाव दिएकाले कार्यालय धर्मशालाबाट सञ्चालन गरिएको हो।

दाङ- आन्तरिक राजस्व कार्यालय तुलसीपुरले त्रिसिद्धेश्वरी मन्दिर तुलसीपुरको धर्मशालाबाट आफ्नो सेवा पुनः सुरुवात गरेको छ। धर्मशालाका १३  कोठा भाडामा लिएर कार्यालयबाट प्रवाह गरिने सेवा सुरु गरेको कार्यालयका प्रमुख कर अधिकृत श्रीधर टण्डनले जानकारी दिए।

गत भदौ २३ र २४ को जेनजी आन्दोलनका क्रममा कार्यालय भवन तोडफोड तथा आगजनीबाट पूर्णरूपमा क्षतिग्रस्त भएपछि धर्मशालाका कोठा भाडामा लिएर सेवा प्रवाह गरेको हो।

सेवाग्राहीलाई ध्यान दिएर  करदाता सेवा र राजस्वसम्बन्धी सम्पूर्ण सेवा सुरु गरेको कार्यालय उनले जानकारी दिए। उनका अनुसार यस आर्थिक वर्षको असार मसान्तसम्मका लागि मासिक ७५ हजार रूपैयाँ भाडा तिर्नेगरी मन्दिरसँग सम्झौता गरी धर्मशालामा कार्यालय स्थापना गरी सोमबारबाट सेवा सुरु गरिएको हो।

सो कार्यालयका दाङ, पूर्वीरुकुम, प्युठान, रोल्पालगायतका जिल्लाका गरी ३५ हजारभन्दा बढी करदाता रहेका छन्। आन्दोलनका क्रममा कार्यालयका दुईवटा भवन, अफिसर निवास पूर्णरूपमा क्षतिग्रस्त भएका छन्।

त्यसैगरी, दुई गाडी, कार्यालयभित्रका सम्पूर्ण सामग्री जलेर नष्ट भएका छन्। भवनमा बस्न नमिल्ने भनी प्राविधिक टोलीले सुझाव दिएकाले कार्यालय धर्मशालाबाट सञ्चालन गरिएको छ।

यसअघि  गत असोज ७ गतेदेखि सो कार्यालयले तुलसीपुर उद्योग वाणिज्य संघले निःशुल्क रूपमा उपलब्ध गराएको संघको कार्यकक्षबाट आंशिकरूपमा सेवा सञ्चालन गरिए तापनि अहिले भने धर्मशालाका कोठा भाडामा लिएर कार्यालयबाट हुने सबै सेवा प्रवाह गरेको हो।

जिल्लामा जेनजी आन्दोलनका क्रममा सरकारी कार्यालयमा क्षति भएका भवनका केही कोठालाई मर्मत गरी ती कोठामा बसेर सेवा प्रवाह गरिरहेका छन्। केही कार्यालयले कार्यालय परिसरमा साना टहरा तथा पाल टाँगेरसमेत सेवा प्रवाह गरिरहेका छन्। रासस


प्रकाशित : मंगलबार, कात्तिक १८ २०८२१०:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend