बाँके- बाँकेको दुर्गम मानिने नरैनापुर गाउँपालिका क्षेत्रमा अटोरिक्सा सञ्चालनमा आएपछि स्थानीयलाई आवागमनमा सहज भएको छ। छोटो दूरीको यात्राका लागि सवारीसाधन नपाइने समस्याबाट हैरान भएका नरैनापुरवासीलाई अटोरिक्सा सञ्चालनमा आएपछि गन्तव्यसम्म पुग्न सजिलो भएको हो।
नरैनापुर-६ गङ्गापुर निवासी सोहनलाल यादवका अनुसार साँझ र बिहान यात्रुवाहक बस जाने/आउने गरे पनि अन्य समयमा आवागमनमा सास्ती व्यहोर्नुपर्ने नरैनापुरवासीको बाध्यता अटोरिक्साले अन्त्य गरेको छ। नेपालगञ्ज-बघौडा हुलाकी सडक पक्की भएसँगै नरैनापुरमा सञ्चालनमा ल्याइएको अटोरिक्साले स्थानीयवासीलाई सहज बनाएको उनको भनाइ छ।
सदरमुकाम नेपालगञ्जबाट नरैनापुर ४४ किलोमिटर टाढा पर्ने नरैनापुरमा यसअघि सवारीसाधनको सास्ती हुँदै आएको थियो। हिजोआज रिक्सा चढेर एक घण्टामा नेपालगञ्ज पुग्न सकिने नरैनापुर-५ जमुनीगाउँकी टीका बूढाथोकीले बताए।
'रिक्सामा चढेपछि घामपानीले प्रभावित गर्दैन, समयको पनि बचत भएको छ। अहिले सजिलोसँगै गन्तव्यमा पुुग्न सकिन्छ', उनले भने, 'नरैनापुरमा अटोरिक्सा सञ्चालनमा आएपछि स्थानीयलाई दैनिकी कामका लागि सदरमुकामसम्म पुग्न सहज भएको छ।'
नरैनापुर गाउँपालिकाभित्रका गङ्गापुर, मटेहिया, कालाफाँटा, लक्ष्मणपुर र कटकुइँयाका गाउँबस्तीसम्म आवागमनमा अटोरिक्साले सहज बनाएको छ। साइकल वा मोटरसाइकलजस्ता निजी सवारीसाधन नहुने सर्वसाधारणलाई गाउँपालिकाभित्रैका एक वडाबाट अर्को वडामा आउनजान अटोरिक्साले सुविधा पुगेको छ।
अटोरिक्सा सञ्चालनमा आएपछि बालबालिका, अशक्त, अपाङ्गता भएका र ज्येष्ठ नागरिक तथा बिरामी प्रत्यक्ष लाभान्वित भएका छन्। महिला, विद्यार्थी, शिक्षक र कर्मचारीले पनि रिक्साको उपयोग गर्दै आएका छन्। एक घण्टा पैदल हिँड्नुुपर्ने यात्रा १५/२० मिनेटमा पुगिने बूढाथोकीले जानकारी दिए।
अटोरिक्सा चलाएर नागरिकलाई यातायात सेवा दिनुका साथै गाउँमै राम्रो आम्दानी गर्दै आएको नरैनापुर-१ कटकुइँया निवासी अटोचालक जाकिर अलीले बताए। चार सिट क्षमताको अटोरिक्साले नरैनापुरको सीमावर्ती क्षेत्र सुइँया बघौडादेखि नेपालगञ्जसम्मको प्रतिव्यक्ति २५० र गाउँपालिका केन्द्र नरैनापुरदेखि २०० रुपैयाँ भाडा लिने गरेको उनको भनाइ छ। रासस