शुक्रबार, असार १९ गते २०८३    
शुक्रबार, असार १९ २०८३

'देशको आर्थिक स्थायित्वका लागि निजी क्षेत्रसहित एकजुट भएर राष्ट्र निर्माणमा सक्रिय बनौँ'

सोमबार, कात्तिक १७ २०८२
'देशको आर्थिक स्थायित्वका लागि निजी क्षेत्रसहित एकजुट भएर राष्ट्र निर्माणमा सक्रिय बनौँ'

व्यवसायीहरूले सरकारलाई सरकारी कार्यालयका सेवा प्रवाह र सहजीकरण प्रक्रियालाई सहज र व्यवसायीमैत्री बनाउन आग्रह गरेका छन्।

काठमाडौं- देशको हालको राजनीतिक, सामाजिक र आर्थिक अस्थिरताबीच निजी क्षेत्रका शीर्ष छाता संगठनहरूले एकता र जिम्मेवारीसहित राष्ट्र निर्माणमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन्।

राष्ट्रिय व्यवसायिक पहलको संयोजनमा भएको संयुक्त छलफलपछि सोमबार जारी संयुक्त घोषणापत्रमार्फत निजी क्षेत्रले सरकार, राजनीतिक दल, सुरक्षा निकाय र नव-युवासँग सहकार्य गर्दै आर्थिक स्थायित्व, सुशासन र व्यावसायिक वातावरण सुदृढीकरणमा अग्रसर रहने अठोट गरेको हो।

घोषणापत्रमा भनिएको छ, 'राष्ट्रलाई खर्बौँ रूपैयाँ करका माध्यमबाट निरन्तर योगदान गरिरहेको निजी क्षेत्रको देशको कुल गार्हस्थ उत्पादनमा ८० प्रतिशतभन्दा बढी योगदान छ भने झन्डै ५० लाख व्यक्तिलाई प्रत्यक्ष वा अप्रत्यक्षरूपमा रोजगारी सिर्जना गरिएको छ।'

यद्यपि हालको चुनौतीपूर्ण अवस्थामा व्यवसाय सञ्चालन सहज नरहेको स्वीकार गर्दै निजी क्षेत्रले कठिनाइका बीच पनि राष्ट्रप्रति आफ्नो जिम्मेवारी पूरा गर्न तत्पर रहेको स्पष्ट गरेको छ।

संयुक्त घोषणाअनुसार, निजी क्षेत्रका छाता संगठनहरूले कार्यदल गठन गरी सरकार, राजनीतिक दल, नव-युवाहरू र अन्य सरोकारवालासँग सहकार्य गर्दै व्यावसायिक सुरक्षाका लागि कानूनी कार्यान्वयन सुदृढ गर्न, तोकिएकै समयमा आमनिर्वाचन सम्पन्न गर्न सहयोग पुर्‍याउने र उद्यमीहरूको सुरक्षामा राज्यको जिम्मेवारीलाई सुनिश्चित गर्न आग्रह निर्णय गरेका छन्।

साथै, सुशासन र भ्रष्टाचार अन्त्यका लागि सहकार्य गर्ने, सुरक्षा निकायहरूको मनोबल र संरचना बलियो पार्ने तथा व्यवसाय निरन्तरतालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता पनि जाहेर गरिएको छ।

व्यवसायीहरूले सरकारलाई सरकारी कार्यालयका सेवा प्रवाह र सहजीकरण प्रक्रियालाई सहज र व्यवसायीमैत्री बनाउन आग्रह गरेका छन्। साथै, निजी क्षेत्रप्रति समाजमा रहेका केही गलत धारणालाई सच्याउन सार्वजनिक सचेतना अभियान सञ्चालन गर्ने, निजी क्षेत्रको वास्तविक योगदानबारे तथ्यसहित जानकारी जनतासमक्ष प्रस्तुत गर्ने र नव-युवाहरूसँग सहकार्यमा सकारात्मक भाष्य निर्माण गर्ने कार्य अघि बढाइने उल्लेख छ।

भादौ २३ र २४ गतेका नव-युवाहरूको आन्दोलन र त्यसपछि देखिएका घटनाक्रमले व्यावसायिक वातावरणमा ल्याएको अनिश्चिततालाई सम्बोधन गर्दै घोषणापत्रमा निजी क्षेत्रले पारदर्शी, जिम्मेवार र राजनीतिक स्वार्थविहीन व्यवसायिक अभ्यासलाई निरन्तरता दिने, पुँजी वृद्धि र सुशासनमार्फत समृद्ध नेपाल निर्माणमा योगदान पुर्‍याउने अठोट गरेको छ।

घोषणापत्रमा भनिएको छ, 'हामी, निजी क्षेत्रका अग्रणी प्रतिनिधिहरू, नव-युवाहरूको आन्दोलनका क्रममा उठाइएका भावना अनुसार सुशासन, पारदर्शिता र समृद्धिको मार्गमा सहकार्य गर्दै अघि बढ्ने दृढ प्रतिबद्धता जनाउँछौँ।'

निजी क्षेत्रले सरकार, राजनीतिक दल, युवा पुस्ता र आम नेपाली जनतासँग मिलेर शान्त, गतिशील र समृद्ध नेपाल निर्माणका लागि संयुक्तरूपमा काम गर्ने प्रतिज्ञा गर्दै भाद्रको आन्दोलनपछि बढेको निराशालाई आशामा बदल्ने सामूहिक अभियान सञ्चालन गर्ने घोषणा गरेको छ।


प्रकाशित : सोमबार, कात्तिक १७ २०८२१८:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend