काठमाडौं- अर्थमन्त्री रामेश्वर खनाल र नेपालका लागि कोरियाका राजदूत पार्क ते यङबीच भेटवार्ता भएको छ।
सोमबार अर्थ मन्त्रालयमा भएको शिष्टाचार भेटमा अर्थमन्त्री खनालले कोरिया र नेपालबीच रहेको दुईपक्षीय कूटनीतिक सम्बन्धको चर्चा सहित कोरिया सरकारले प्रदान गर्दै आएको निरन्तर सहयोगका लागि धन्यवाद व्यक्त गरे।
कोरियाको सहयोगमा सञ्चालन भएका आयोजना तथा कार्यक्रमहरुको अवस्था सन्तोषजनक रहेको विषय उल्लेख गर्दै कोरियासँगको आर्थिक साझेदारीलाई निरन्तरता दिने पनि उनले बताए।
भेटको अवसरमा राजदूत यङले कोरिया सरकारको एजेन्सी कोइका र नेपाल सरकारबीचको द्विपक्षीय सम्बन्ध स्थापनाको ३० वर्ष पुगेको र उक्त अवधिमा नेपालले कोरिया र कोइकासंग गरेको समन्वय र सहकार्यका लागि खुशी व्यक्त गर्दै कोरियन लगानीकर्तालाई नेपालमा लगानीको लागि प्रोत्साहित गर्न र नेपाली उत्पादनहरुको प्रवर्द्धनका लागि आवश्यक सहजीकरण गर्ने विषय उल्लेख गरे।
साथै, नेपाली कामदारहरुलाई कोरिया रोजगारीका लागि लैजान सहज होस् भनेर कोरिया सरकारले छुट्टै भिसा सेन्टर स्थापना गर्न लागेको विषयसमेत जानकारी गराए।
त्यसैगरी, राजदूतले ईपीएस प्रणालीअन्तर्गत रोजगारीका लागि कोरिया गइ फर्किएका नेपाली नागरिकहरूको उद्यमशीलता प्रवर्द्धनका लागि नयाँ व्यवसाय सञ्चालन गर्न कोइकाको सहयोगमा कृषि विकास बैंकमार्फत सहुलियत पूर्ण कर्जा उपलब्ध गराउनका लागि प्रक्रिया अगाडि बढाइएकोमा सोका लागि आवश्यक सहजीकरण गर्नसमेत अनुरोध गरे।