काठमाडौं- नेपालमा हाल पश्चिमी वायुको प्रभाव कायमै रहेकाले देशका केही पहाडी तथा हिमाली भू–भागमा हल्का वर्षा र हिमपात हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागका अनुसार हाल देशका अधिकांश स्थानमा मौसम मुख्यतः सफा रहने भए पनि पहाडी भू–भागमा आंशिक बदली रहनेछ। विशेषगरी कोशी र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने अनुमान गरिएको छ।
यसअघि बङ्गालको खाडीमा विकसित ‘मोन्था’ नामक चक्रवातको कारण देशका विभिन्न भागमा वर्षा भएपछि केही दिन जनजीवन प्रभावित भएको थियो। उक्त चक्रवातको प्रभावले हिमाली क्षेत्रमा वर्षासँगै हिमपातसमेत भएको थियो।
हिमपातका कारण मनाङको डिस्याङ गाउँपालिका–९ स्थित तिलिचो ताल आधार शिविरमा आन्तरिक तथा बाह्य गरी १३ जना पर्यटक फसेका थिए। उनीहरूलाई सशस्त्र प्रहरीको पर्वतीय उद्धार तालिम केन्द्र, शिक्षालय मनाङको टोलीले उद्धार गरेको थियो।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार कात्तिक १५ गते बिहानदेखि १६ गते बिहानसम्म देशभरका ३०१ वर्षा मापन केन्द्रमा वर्षाको तथ्यांक संकलन गरिएको थियो। तीमध्ये १८५ वटा केन्द्रले उल्लेख्य मात्रामा वर्षा रेकर्ड गरेका छन्।
सबैभन्दा बढी वर्षा लमजुङको बेंसीशहर केन्द्रमा ७१ दशमलव १ मिलिमिटर मापन गरिएको प्राधिकरणले जनाएको छ। चार वटा केन्द्रमा ५० मिलिमिटरभन्दा बढी वर्षा मापन गरिएको छ। रासस