शुक्रबार, असार १९ गते २०८३    
शुक्रबार, असार १९ २०८३

वीरगञ्ज नाकाबाट ४ अर्ब ६१ करोडको खाद्यान्न आयात

आइतबार, कात्तिक १६ २०८२
वीरगञ्ज नाकाबाट ४ अर्ब ६१ करोडको खाद्यान्न आयात

चालु आवको तीन महिनाको अवधिमा ८९ करोड ८२ लाख रूपैयाँबराबरको ९४ लाख एक हजार ४३६ किलोग्राम चामल आयात भएको छ।

पर्सा- वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्ष २०८२/८३ को तीन महिनामा ४ अर्ब ६१ करोड रूपैयाँको खाद्यान्न आयात गरिएको छ। धान, चामल, मकै, माल्टलगायतका १६ वटा खाद्यान्न वस्तु आयात गरिएका हुन्।

गत आवको तीन महिनाको तुलनामा चालु आवको सोही अवधिमा १६ खाद्यान्न १ अर्ब ५६ करोड रूपैयाँभन्दा बढीको आयात गरिएको छ। गत आवको तीन महिनाको अवधिमा ३ अर्ब चार करोड रूपैयाँबराबरका १६ थरिका खाद्यान्न यो नाका हुँदै आयात गरिएका थिए।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले चालु आवको तीन महिनामा खाद्यान्नको आयातमा वृद्धि भएको जानकारी दिए। 'यो वर्षको पहिलो त्रैमासिकमा खाद्यान्नलगायतको वस्तुको आयातमा वृद्धि भएको छ', उनले भने।

चालु आवको तीन महिनामा १ अर्ब ४६ करोड रूपैयाँबराबर तीन करोड ९१ लाख एक हजार ३४२ किलोग्राम धान आयात भएको छ। गत आवको तीन महिनाको अवधिमा भने १ अर्ब ६ करोड रूपैयाँबराबर २ करोड ९२ लाख ६२ हजार दुईसय किलोग्राम धान आयात भएको थियो।

वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालु आवको तीन महिनाको अवधिमा ८९ करोड ८२ लाख रूपैयाँबराबरको ९४ लाख एक हजार ४३६ किलोग्राम चामल आयात भएको छ।

त्यस्तै, गत आवको तीन महिनाको अवधिमा पनि ४६ करोड ५३ लाख रूपैयाँबराबरको ३८ लाख ४७ हजार ८०४ किलोग्राम चामल आयात भएको थियो। यहाँ आयात हुनेमा माल्ट, फापर, कोदो, ग्लुटेन, फलफूलको मिठो, मकै वा अन्य अन्नको च्याखलाको पिठो, कनिका, दलहनको पिठोलगायतका १६ थरिका खाद्यान्न आयात हुने गर्छ। रासस


प्रकाशित : आइतबार, कात्तिक १६ २०८२१८:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend