शुक्रबार, असार १९ गते २०८३    
शुक्रबार, असार १९ २०८३

बाढी-पहिरोले अवरुद्ध मुख्य सडकमा यातायात सञ्चालन

आइतबार, कात्तिक १६ २०८२
बाढी-पहिरोले अवरुद्ध मुख्य सडकमा यातायात सञ्चालन

बाढीले डाइभर्सन बगाएपछि अवरुद्ध फिदिम-फालोट सडक भने सञ्चालनमा आउन सकेको छैन।

पाँचथर- अविरल वर्षाका कारण अवरुद्ध रहेका मुख्य सडक आजदेखि सञ्चालन भएका छन्। बाढी र पहिराका कारण अवरुद्ध रहेका मेची राजमार्ग, पुष्पलाल (मध्यपहाडी) राजमार्ग र तमोर करिडोर सडकमा यातायात सञ्चालनमा आएका हुन्।

पूर्वी पहाडका ताप्लेजुङ, पाँचथर र इलामलाई तराईसँग जोड्ने मेची राजमार्गको इलामस्थित राजदुवाली खण्ड आज बिहानदेखि सञ्चालनमा आएको छ। सडकमा आज बिहान सामान्य मर्मतपछि साना सवारीसाधनका लागि सञ्चालन गरिएको सडक डिभिजन कार्यालय इलामका प्रमुख पवन भट्टराईले जानकारी दिए। जोखिमलाई ध्यानमा राखेर उक्त सडक गएराति भने बन्द गरिएको थियो।

पूर्वी पहाडबाट सुनसरीको धरान हुँदै तराईलाई जोड्ने तमोर करिडोर सडकको पाँचथर-धनकुटा सीमावर्ती नावा खोला खण्डसमेत आजदेखि सञ्चालनमा आएको छ। नावा खोलामा पानीको बहावका कारण सवारी पार गर्न सकेका थिएनन्। जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायब उपरीक्षक अनिषकुमार कर्णले यहाँ सडक मर्मत गरी आज बिहानदेखि सञ्चालन गरिएको जानकारी दिए।

यस्तै, पुष्पलाल (मध्यपहाडी) राजमार्गको पाँचथरको याङवरक गाउँपालिका खण्डसमेत सञ्चालन भएको छ। याङ्वरक गाउँपालिका-३ स्थित रिजालभिरमा झरेको पहिरो पन्छाइनुका साथै याङ्वरक-२ स्थित दोभानेमा बाढीले बगाएको डाइभर्सन पुनर्निमाण गरी सडक सञ्चालन गरिएको पाँचथर प्रहरीले जनाएको छ।

बाढीले डाइभर्सन बगाएपछि अवरुद्ध फिदिम-फालोट सडक भने सञ्चालनमा आउन सकेको छैन। बाढीले उक्त सडकअन्तर्गत फिदिम नगरपालिका वडा नं १ र ११ को सीमास्थित फेमे खोलामा रहेको डाइभर्सन बगाएपछि सडक अवरुद्ध भएको थियो।

गत वर्षको असोज १२ गते आएको बाढीले यहाँ रहेको सडक पुल बगाएपछि अस्थायी डाइभर्सनबाट सवारीसाधन आवतजावत गर्दै आएका छन्। तर बाढी आउनासाथ डाइभर्सनमा क्षति हुनाले यस सडकले जोड्ने फिदिम नगरपालिका र फालेलुङ गाउँपालिकाका १० वटा वडाका बासिन्दाले सास्ती भोग्दै आएका छन्।

यस्तै, राँके-रवि-भेडेटार सडकको पाँचथर खण्ड सञ्चालन रहेको पाँचथर प्रहरीले जनाएको छ। उक्त सडकको धनकुटाको चौबिसे गाउँपालिकास्थित भेडेटार नजिकै पहिरो जाँदा धनकुटा खण्ड भने प्रभावित भएको थियो। रासस


प्रकाशित : आइतबार, कात्तिक १६ २०८२१३:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend