शुक्रबार, असार १९ गते २०८३    
शुक्रबार, असार १९ २०८३

बेमौसमी वर्षाले धानमा क्षति, किसान चिन्तित

शनिबार, कात्तिक १५ २०८२
बेमौसमी वर्षाले धानमा क्षति, किसान चिन्तित

हरेक वर्ष बेमौसमी वर्षा, धान रोप्ने बेला मलको अभाव र उत्पादनको उचित बजार मूल्य नपाउँदा किसानमा चिन्ता बढेको छ।

रुपन्देही- सम्मरीमाई गाउँपालिका-६ स्थित अवधपुरका किसान सङ्ग्राम केवट धान भित्र्याउने र नयाँ बाली रोप्ने बेलामा भएको बेमौसमी वर्षाले धानबालीमा क्षति पुर्‍याएपछि चिन्तित भएका छन्। केवटले भने, 'बाली स्याहार्ने समयमा वर्षा भएपछि ठूलो क्षति भएको छ, वर्षाले धानमात्रै होइन हाम्रो मेहनत पनि बगाएको छ।'

उनले घाम नलाग्दा करिब २५ प्रतिशत धानमा टुसा उम्रिने र कुहिने अवस्था पुगेको बताए। 'मेसिन चलाउने अवस्था छैन, खेत पूरै हिलाम्य भएको छ। हँसियाले धान काट्दा खर्च दोब्बर भइरहेको छ', उनले भने।

धान भित्र्याउने र नयाँ बाली रोप्ने समयमा परेको बेमौसमी वर्षाले रुपन्देहीको मर्चवार क्षेत्रका किसान चिन्तित भएका छन्। वर्षाले धानबालीमा क्षति पुर्‍याएपछि उनीहरु झनै चिन्तित भएका हुन्। 

किसान रामप्रसाद चौधरीले धान भित्र्याउने र त्यसपछि गहुँ रोप्ने तयारीमा रहे पनि तत्काल सम्भव नदेखिएको बताए। उनले भने, 'माटोमा पानी जति रह्यो, बीउ राख्न पनि ढिला हुन्छ। बैमौसमी वर्षाले हामी किसानले गरेको मेहनतमाथि खेलबाड नै भएको जस्तो लाग्छ।'

लामो समयदेखि हसियाँले धान काटेर भित्र्याउने किसान अब भने नयाँ प्रविधिको प्रयोग गर्न थालेका छन्। कम समयमा धेरै धान काट्न सकिने हुनाले उनीहरुले कम्बाईन हार्भेष्टरको प्रयोग गदै आइरहेका छन्। तर, खेत भिजेका कारण कम्बाइन मेसिन चलाउन नसकिएको र हसियाँले नै धान काट्नुपर्ने बाध्यता आएको किसानको गुनासो छ। मजदुर अभाव हुनुकै साथै लागत पनि बढेको उनीहरुको भनाइ छ।

'हामी किसानका लागि खेती केवल पेसा होइन, हाम्रो जीवन हो। तर, हरेक वर्ष सिँचाइको पर्याप्त सुविधा नभएका कारण आकासे पानीको भरोसा गर्नुपर्ने बाध्यता पनि छ', किसान मिथिलादेवी केवटले गुनासो गरिन्।

त्यसैगरी नयाँ सिजनको तयारीस्वरूप रोपिएका तरकारीका बिउ पनि पानीमा डुबेर बिग्रिने खतरा देखिएको छ। किसानले करिब २५ प्रतिशतसम्म क्षति हुने अनुमान गरेका छन्।

कोटहीमाई गाउँपालिकाका सहायक कृषि विकास अधिकृत गिरिजा पाण्डेयका अनुसार कम चिस्यान भएका खेतका लागि यो वर्षा केही हदसम्म फाइदाजनक भए पनि काट्ने अन्तिम चरणमा रहेका धानबालीमा आंशिक क्षति पुगेको पुष्टि भएको छ। उनले भने, 'धान भित्र्याउने किसानलाई नोक्सान पुगेको छ। तर, गहुँ र सागसब्जीका लागि केही लाभ पुग्छ।'

किसानका लागि अहिले राहतभन्दा बढी चिन्ता छाएको छ। हरेक वर्ष बेमौसमी वर्षा, धान रोप्ने बेला मलको अभाव र उत्पादनको उचित बजार मूल्य नपाउँदा किसानमा चिन्ता बढेको छ। कृषिप्रधान देशमा कृषि क्षेत्रको विकासका लागि तीनै तहको सरकारले ध्यान दिनुपर्ने कोटहीमाई गाउँपालिका-१ का हृदयराम गुप्ताले बताए। रासस


प्रकाशित : शनिबार, कात्तिक १५ २०८२१६:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend