शुक्रबार, असार १९ गते २०८३    
शुक्रबार, असार १९ २०८३

आज हरि बोधिनी एकादशीः घरमा रोपिएको तुलसीलाई दामोदरसँग विवाह गरिँदै

शनिबार, कात्तिक १५ २०८२
आज हरि बोधिनी एकादशीः घरमा रोपिएको तुलसीलाई दामोदरसँग विवाह गरिँदै

वैदिक सनातन हिन्दू धर्मावलम्बीले भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गर्दैछन्।

काठमाडौं- वैदिक सनातन हिन्दू धर्मावलम्बीले भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गर्दैछन्। 

प्रत्येक वर्ष कात्तिक शुक्ल एकादशीका दिनमा मनाइने हरि बोधिनी एकादशी पर्व आज तुलसी र दामोदरको विवाह गरी  मनाउन लागिएको हो। आसार शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु ब्युँतिने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रवोधिनी एकादशी पनि भनिन्छ। हरि शयनीदेखि हरि बोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दछन्।

विष्णु क्षिर सागरमा सुतेकाले यी चार महिना विवाह ब्रतवन्धजस्ता माङ्गलिककार्य नगरिने परम्परा छ। यस समयमा खोला, नदी नालामा बाढी पहिरो आउने र सर्पजस्ता जीवको भयका कारण यात्रा नगर्नु शुभ मानिन्छ। 

हरिशयनी एकादशीका दिन घरघरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिँगारी फूल मालाले सजाएर विवाह गरिन्छ। तुलसी विष्णुप्रिया भएकाले यस दिन तुलसीको दामोदरसँग विवाह गर्ने परम्परा बसेको हो । तुलसीको मठ नजिकै विष्णुको प्रतीकका रूपमा निगालाको लिङ्ग गाडेर विधिपूर्वक पूजा गरिन्छ। 

कात्तिक महिनाभर सबै देवदेवी तुलसीमै निवास गर्छन् भन्ने धार्मिक विश्वास छ। हरिशयनी एकादशीदेखि पूजा गरिएको तुलसीको उद्यापन अग्निस्थापना विधिबाट विशेष पूजा र हवनसहित गरिन्छ। आजदेखि मार्गशीर्ष कृष्ण पञ्चमीसम्म अग्निस्थापना नजुरेका दिनपनि अग्निस्थापना विधिबाट विशेष पूजा र हवन गर्न सकिने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् प्रा तोयराज नेपालले बताउँछन। 

आदिकालदेखि पूजाको परम्परा बसेको तुलसीको महिमा वैज्ञानिकरूपमा पनि लाभदायक प्रमाणित भएको छ। यसैले तुलसीको मठ हुने घरलाई तीर्थ समान मानिन्छ। तुलसीको सुगन्धले दश दिशा पवित्र हुन्छ भनिन्छ । तुलसीको पूजा गरिएको घरमा यमदूत पनि पस्दैनन् भन्ने आस्थाका कारण हिन्दू धर्मावलम्बीले घरमा तुलसीको मठ बनाउँछन्।

तुलसीको पात, डाँठ, वा फूलको रस रुघाखोकी र औलो लगायत रोगका लागि औषधि हुन्छ। यो रस शरीरमा लगाएर सुतेमा लामखुट्टेले टोक्दैन। तुलसीको मठ भएको स्थल वरपर विषालु सर्प पनि आउँदैन। मठको वरपर वहने हावाले विषालु कीटाणुलाई नष्ट गर्दछ । शरद ऋतुभर सबै प्राणीका लागि तुलसीलाई महा औषधि मानिन्छ।


प्रकाशित : शनिबार, कात्तिक १५ २०८२०८:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend