काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले उद्योगहरूमा भइरहेको विद्युत कटौतीको समस्या तत्काल समाधान गर्न सरकारसँग आग्रह गरेका छन्।
अर्थ मन्त्रालयमा शुक्रबार आयोजित सार्वजनिक-निजी संवाद कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले उद्योगहरूको विद्युत लाइन काटिँदा देशभरका दर्जनौं उद्योग बन्द हुन पुगेको र यसले हजारौँ रोजगारी संकटमा पारेको उल्लेख गर्दै, वार्ता र संवादमार्फत समस्याको समाधान खोज्न आग्रह गरेका छन्।
उनले भने, 'लाइन काटिँदा राष्ट्रले ठूलो आर्थिक क्षति भोग्नु परेको छ। औद्योगिक उत्पादन, निर्यात र समग्र आर्थिक गतिविधिमा नकारात्मक असर परेको छ।' विवाद समाधानका लागि सरकारसँग संवाद र सहकार्यको वातावरण सिर्जना गर्नुपर्नेमा पनि उनले जोड दिए।
अध्यक्ष ढकालले अर्थतन्त्रको पुनरुत्थानका लागि उद्योगी व्यवसायीहरूको मनोबल उच्च राख्नु आवश्यक रहेको बताए। उनले जेनजी आन्दोलनका क्रममा निजी उद्योग प्रतिष्ठानमाथि भएको आक्रमणले औद्योगिक सुरक्षा कमजोर भएको, लगानीकर्तामा भय सिर्जना भएको र आत्मविश्वास घटेको बताए।
'उद्योगी–व्यवसायीहरूको मनोबल उच्च राख्न नसकेमा देशमा नयाँ लगानी आउने छैन, भएको पूँजी समेत पलायन हुने जोखिम छ। आन्तरिक र बाह्य लगानीका लागि सुरक्षित वातावरण आवश्यक छ। निजी क्षेत्र हरेक आन्दोलनको समयमा आक्रमणको सिकार हुनु दुखद् छ। यसको दृष्टिकोण परिवर्तन गर्न सरकारले उचित पहल गर्नुपर्छ,' अध्यक्ष ढकालले भने।
सरकारले औद्योगिक सुरक्षा तथा क्षतिग्रस्त उद्योगहरूको पुनर्निर्माणमा गरेका निर्णयहरू सराहनीय भए पनि नीति कार्यान्वयन ढिलो हुने प्रवृत्तिमा सुधार गर्नु आवश्यक रहेकोमा ढकालले जोड दिए।
साथै उनले सरकारले अनुकूल व्यवसायिक वातावरण तयार गर्न जिल्लास्थित उद्योग वाणिज्य संघ र व्यवसायीहरूको सहभागितामा जिल्ला सुरक्षा समितिका पदाधिकारीसहित बैठक राख्ने निर्णयको महासंघले स्वागत गरेको बताए।