शुक्रबार, असार १९ गते २०८३    
शुक्रबार, असार १९ २०८३

महालेखा नियन्त्रकको एकीकृत वित्तीय विवरण पेशः गत वर्ष सरकारको सञ्चित कोष झन्डै २ खर्बले ऋणात्मक

शुक्रबार, कात्तिक १४ २०८२
महालेखा नियन्त्रकको एकीकृत वित्तीय विवरण पेशः गत वर्ष सरकारको सञ्चित कोष झन्डै २ खर्बले ऋणात्मक

महालेखा नियन्त्रक कार्यालयका अनुसार आर्थिक वर्ष २०८१/८२ मा नेपाल सरकारको सञ्चित कोष १ खर्ब ९६ अर्ब ३४ करोड ५९ लाख रुपैयाँले ऋणात्मक देखिएको छ। त्यस्तै, नगद स्थिति  ३१ अर्ब ३४ करोड ६१ लाख रुपैयाँले ऋणात्मक रहेको उल्लेख छ।

काठमाडौं- महालेखा नियन्त्रक शोभाकान्त पौडेलले आर्थिक वर्ष २०८१/८२ को नेपाल सरकारको केन्द्रीय खाताको एकीकृत वित्तीय विवरण, आन्तरिक लेखापरीक्षणको वार्षिक प्रतिवेदन तथा सम्पत्तिको एकीकृत वार्षिक विवरण अर्थमन्त्री रामेश्वर खनालसमक्ष पेश गरेका छन्।

महालेखा नियन्त्रक कार्यालयले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा २९ बमोजिम तथा सोही ऐनको दफा २३ को उपदफा (११) अनुसार तयार पारिएको एकीकृत वित्तीय विवरण र आन्तरिक लेखापरीक्षण प्रतिवेदन पेश गरेको हो। साथै, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ७८(७) बमोजिम नेपाल सरकारको सम्पत्तिको एकीकृत वार्षिक विवरण पनि अर्थमन्त्रीलाई बुझाइएको छ।

संविधान, प्रचलित ऐन तथा नियमावलीको अधीनमा रही सङ्घीय सञ्चित कोषको सञ्चालनको जिम्मेवारी महालेखा नियन्त्रक कार्यालयको भएको र कानूनद्वारा तोकिएको समयसीमाभित्रै विवरण र प्रतिवेदन अर्थमन्त्री र महालेखापरीक्षक कार्यालयमा पेश गरिएको सहमहालेखा नियन्त्रक एवम् प्रवक्ता दीपक लामिछानेले जानकारी दिएका छन्।

नेपाल सरकारबाट स्वीकृत 'नेपाल सार्वजनिक लेखामान' र महालेखापरीक्षकबाट स्वीकृत लेखा डाँचा अनुरूप तयार पारिएको सो विवरणमा बजेट तथा एक्स्ट्रा-बजेटरी निकायका प्रचलित कानूनले मागेका सबै विवरणहरू समावेश गरिएका छन्।

महालेखा नियन्त्रक कार्यालयका अनुसार आर्थिक वर्ष २०८१/८२ मा नेपाल सरकारको सञ्चित कोष १ खर्ब ९६ अर्ब ३४ करोड ५९ लाख रुपैयाँले ऋणात्मक देखिएको छ। त्यस्तै, नगद स्थिति  ३१ अर्ब ३४ करोड ६१ लाख रुपैयाँले ऋणात्मक रहेको उल्लेख छ।

तर, विभिन्न कोषहरूको मौज्दात रकम र एक्स्ट्रा-बजेटरी निकायहरूको बाँकी मौज्दातलाई समेट्दा सरकारको कुल नगद तथा बैंक मौज्दात ६५ अर्ब ८१ करोड २६ लाख  रुपैयाँले धनात्मक देखिएको प्रतिवेदनमा उल्लेख गरिएको छ।


प्रकाशित : शुक्रबार, कात्तिक १४ २०८२१५:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend