शुक्रबार, असार १९ गते २०८३    
शुक्रबार, असार १९ २०८३

बर्सातले खेतमै सड्न थाल्यो धान

शुक्रबार, कात्तिक १४ २०८२
बर्सातले खेतमै सड्न थाल्यो धान

निरन्तरको वर्षाले भोजपुरका किसानको वर्षभरको मेहनत र पसिनामा क्षति पुर्‍याएको छ।

भोजपुर- निरन्तरको वर्षाले भोजपुरका किसानको वर्षभरको मेहनत र पसिनामा क्षति पुर्‍याएको छ। थन्काउनका लागि काटिएको धान खेतमा नै कुहिन थालेपछि किसान आर्थिक तथा मानसिक दुवै सङ्कटमा परेका हुन्। नकाटिएको धान पनि लडेका कारण किसान थप चिन्तामा परेका छन्। 

बर्सातले किसानलाई धेरै ठूलो क्षति पुर्‍याएको पौवादुङ–२ का किसान राजन ढकालले बताए। धान थन्काउने मुख्य याममा भएको निरन्तरको बर्सातले किसान समस्यामा परेको उनको भनाइ छ। 'धान थन्काउने मुख्य सिजनमा लगातार वर्षा भइरहेको छ,' उनले भने, 'बिटा लगाउन काटेको धान आलीमै कुहिन थालेको छ। नकाटिएको धान पनि लडेर सखाप भएको छ। यस्तै स्थिति रह्यो भने परिवार पाल्न गाह्रो पर्ने अवस्था छ।' ढकालका अनुसार बर्सातले धान मात्र होइन, पशुचौपायाका लागि राखिने पराल पनि बिग्रँदै गएको छ। 

किसानको वर्षभरिको मेहनत बर्सातले सखाप पारिदिएको स्थानीय किसान रुपनारायण फुयाँलले बताए। थन्काउने अवस्थामा रहेको धानमा क्षति पुगेपछि किसानले ठूलो पीडा भोग्नु परेको उनको भनाइ  छ।

'हामीले वर्षभरको पसिना पोख्यौँ,'उनले भन्नुभयो, 'तर असामयिक वर्षाले केही दिनमै सबै बर्बाद गरिदियो। खेतमै धान सड्न थालेको छ। उत्पादन र गुणस्तर दुवैमा क्षति पुग्दैछ।

लगातारको वर्षा, चिस्यान र घाम नलाग्दा धान सुकाउन सकिने अवस्था नरहेको किसानको भनाइ छ। 


प्रकाशित : शुक्रबार, कात्तिक १४ २०८२१४:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend