काठमाडौं- बंगालको खाडीमा विकसित भएको चक्रवात ‘मोन्था’ हाल भारतको मध्य प्रदेश आसपासमा न्यूनचापीय क्षेत्रका रूपमा रहेकाले त्यस प्रणालीको प्रभाव शुक्रबार साँझसम्म नेपालको मौसममा रहने भएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार उक्त प्रणालीका कारण आज देशका धेरै भागमा वर्षा र हिमपात भइरहेको छ।
महाशाखाका अनुसार चक्रवात मोन्थासँगै पश्चिमी वायु र अरब सागरमा बनेको अर्को न्यूनचापीय प्रणालीको आंशिक प्रभाव पनि नेपालमा देखिएको छ। यसले गर्दा कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
शुक्रबार दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा पूर्ण बदली रहनेछ भने बाँकी प्रदेशमा सामान्यतया बदली रहने महाशाखाले जनाएको छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा मध्यम वर्षाको साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।
त्यस्तै कोशी, मधेस र बागमती प्रदेशका केही स्थानमा र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले चेतावनी दिएको छ।
कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरूमा मध्यम हिमपात र केही स्थानहरूमा भारी हिमपातको सम्भावना रहेको छ। बाँकी प्रदेशका उच्च पहाडी भू–भागमा पनि हल्का हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।
पछिल्ला १२ घन्टामा मोरङको हरैँचामा सबैभन्दा धेरै १४०.६ मिलिमिटर वर्षा रेकर्ड भएको छ। त्यस्तै सप्तरीको बरमझियामा १०५.६ मिलिमिटर, उदयपुरगढीमा ८३.२, गाईघाटमा ७४, मुर्कुची बजारमा ७३.६, चुरेमाईमा ७२.४ र लाहानमा ७१.६ मिलिमिटर वर्षा भएको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार शुक्रबार साँझपश्चात मौसम क्रमिक रूपमा सुधार हुने अपेक्षा गरिएको छ।