काठमाडौं- अमेरिकी चिप निर्माता कम्पनी एनभीडीया ५ ट्रिलियन अमेरिकी डलरको पुँजीकरण हुने पहिलो कम्पनी बनेको छ। पछिल्लो समय बढ्दै गएको एआईको प्रचलन र त्यसैका लागि चिप बनाउने यो कम्पनीको सेयर मूल्यमा वृद्धि हुँदा पुँजीकरण बढेर ५ ट्रिलियनको कोसेढुंगा पार गरेको हो।
हालसम्म सेयर बजारमा सूचीकृत भएका संसारका कुनै पनि कम्पनीको बजार मूल्यांकन यति पुगेको छैन। एनभीडीयापछि एप्पल, माइक्रोसफ्ट लगायतका कम्पनी छन्।
चिपमा पनि ग्राफिक तथा एआई चिपमा विशेषज्ञता भएको यो कम्पनीको सन् २०२२ पछि मूल्यांकनमा व्यापक बढोत्तरी भएको छ। च्याटजीपीटीको उदयपछि यसको मूल्यांकन उकालो लागेको हो। सरकारी तथा निजी क्षेत्रबाट एआईमा लगानी व्यापक बढ्दै गएको यही कारणले चिपको मागमात्र ५०० अर्ब डलरको आएको हिजैमात्र एनभीडीयाका प्रमुख कार्यकारीले बताएका थिए।
अमेरिकी सरकार तथा निजी कम्पनीको मागले मात्र यति धेरै व्यापार दिएपछि एनभीडीयाको मूल्यांकन बढिरहेको छ। हालैमात्र चीनसँग अमेरिकाको वार्ता सकारात्मक लयमा गएपछि झन् माग बढ्ने देखिएको छ। पछिल्लो समय चीनसँगको व्यापार युद्धले गर्दा प्रविधिको निर्यातमा अमेरिकाले नियन्त्रण गर्दै आएको छ। तर अब यो सहज भएपछि भने एनभीडीयाको माग झन बढ्ने अपेक्षा गरिएको छ।
१ ट्रिलियनको पुँजीकरणको कोसेढुंगा भेटाउन यो कम्पनीलाई १७ वर्ष लागेको थियो भने १ बाट २ पुग्न ६ महिना लागेको थियो। करिब २ वर्षभित्रै ५ ट्रलियन डलर पुँजीकरण पुग्न जम्मा २ वर्ष लागेको छ। एआई बुमसँगै यसको मूल्यांकन बढिरहेको छ।
जसरी कम्पनीको मूल्यांकन बढेको छ त्यसैगरी यसका प्रमुख कार्यकारी जेनसेन ह्वाङको सम्पत्ति पनि बढिरहेको छ। सेयरको मूल्य बढेसँगै उनको सम्पत्तिमा पनि थप हुँदै आएको छ। हाल उनको सम्पत्ति १७९ अर्ब डलर पुगेको छ। उनी अहिले संसारको ८औँ ठूलो धनी हुन्।
ताइवानी मूलका उनले सन् १९९३ मा एनभीडीया स्थापना गरेका थिए। तमाम भूराजनीतिक तनावकै बीचमा एनभीडीयाले एप्पल, माइक्रोसफ्ट जस्ता परम्पारगत टेक जायन्टलाई पछाडि पार्न सफल भएको छ बजार पुँजीकरणमा।