शुक्रबार, असार १९ गते २०८३    
शुक्रबार, असार १९ २०८३

उच्च हिमाली क्षेत्रमा कात्तिक १५ गतेसम्म यात्रा नगर्न संखुवासभा प्रशासनको आग्रह

बिहीबार , कात्तिक १३ २०८२
उच्च हिमाली क्षेत्रमा कात्तिक १५ गतेसम्म यात्रा नगर्न संखुवासभा प्रशासनको आग्रह

निरन्तर वर्षा भइरहँदा पहिरो जानसक्ने तथा सडक अवरुद्ध हुनसक्ने भएकाले अत्यावश्यक कामबाहेक यात्रा नगर्नसमेत प्रशासनले सबैमा अनुरोध गरेको छ।

किमाथांका- संखुवासभामा वर्षा र हिमपात भइरहेकाले उच्च हिमाली क्षेत्रका पर्यटकीय पदमार्गमा यात्रा नगर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ। कार्यालयले एक सूचना प्रकाशित गर्दै कात्तिक १५ गतेसम्म मकालु आधार शिविर तथा उत्तरी हिमाली क्षेत्रका पदमार्गमा यात्रा नगर्न अनुरोध गरेको हो। 

प्रतिकूल मौसमका कारण मंगलबारदेखि मकालु आधार शिविरसहित उच्च हिमाली भेगमा वर्षा र हिमपात भइरहेकाले पर्यटकलाई उच्च सतर्कता अपनाउन अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाले बताइन्। निरन्तर वर्षा र हिमपात भइरहेकाले कात्तिक १५ गतेसम्म उच्च हिमाली क्षेत्रमा पदयात्रा नगर्न उनले सबैमा अनुरोध गरिन्।

उत्तरी क्षेत्रको चार हजार भन्दामाथि निरन्तर हिमपात भइरहँदा चिसो बढेको, खाद्यन्य र अन्य अत्यावश्यक सामग्रीसमेत अभाव हुनसक्ने भन्दै मकालु आधार शिविर तथा उत्तरी हिमाली क्षेत्रका पदमार्गमा यात्रा नगर्नु उपयुक्त हुने प्रजिअ थपलियाको भनाइ छ। 

मकालु आधार शिविरमा नेपालीसहित दुईसयभन्दा बढी पर्वतारोही शिविरमा रहेका प्रशासनले जनाएको छ। प्रजिअ थपलियाका अनुसार ७० जना विदेशी नागरिकसहित दुईसयभन्दा बढी नेपाली पर्वतारोही अहिले आधार शिविरमा छन्। जिल्लाको मकालु, सभापोखरीसहित उच्च हिमाली भेगमा वर्षा र हिमपात भइरहेको उनले जानकारी दिइन्।

निरन्तर वर्षा भइरहँदा पहिरो जानसक्ने तथा सडक अवरुद्ध हुनसक्ने भएकाले अत्यावश्यक कामबाहेक यात्रा नगर्नसमेत प्रशासनले सबैमा अनुरोध गरेको छ। पहिरोको जोखिममा रहेका परिवारलाई सचेत रहन आग्रह गर्दै प्रजिअ थपलियाले उच्च जोखिममा रहेका परिवारको स्थानान्तरणमा सहजीकरण गर्न १० वटै स्थानीय तहका प्रमुख तथा जनप्रतिनिधिलाई आग्रह गरिन्।

बाढीपहिरोको जोखिम भए वा विपद्को जोखिमको सम्भावना भएमा जिल्ला प्रहरी कार्यालय वा जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्रमा जानकारी गराउन प्रशासनले अनुरोध गरेको छ। रासस


प्रकाशित : बिहीबार , कात्तिक १३ २०८२१५:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend