शुक्रबार, असार १९ गते २०८३    
शुक्रबार, असार १९ २०८३

३४ अंकले बढ्दै २६०० को बिन्दुमा उक्लियो सेयर बजार, ७ अर्बमाथिको कारोबार

बिहीबार , कात्तिक १३ २०८२
३४ अंकले बढ्दै २६०० को बिन्दुमा उक्लियो सेयर बजार, ७ अर्बमाथिको कारोबार

आज २१६ कम्पनीको सेयर मूल्य बढ्दा २८ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ भने ५ कम्पनीको स्थिर छ।

काठमाडौं- उतारचढावबीच सेयर बजार साताको अन्तिम कारोबार दिन पनि वृद्धितर्फै लागेर बन्द भएको छ। यो साता तिहार बिदापछिका दुई कारोबारमा सुधारोन्मुख देखिएको सेयर बजार बुधबार ओरालोतर्फ लागेकामा बिहीबार भने पुन: बढेको हो।

बिहीबार ३४.२२ अंकले बढेर २६००.३८ बिन्दुमा उक्लिएको बजारमा ७ अर्ब ५१ करोड ३९ लाख रूपैयाँको कारोबार भएको छ। आज २१६ कम्पनीको सेयर मूल्य बढ्दा २८ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ भने ५ कम्पनीको स्थिर छ।

यो साता पहिलो कारोबार दिन आइतबार ५.१९ अंकले बढेको बजार दोस्रो कारोबारमा मंगलबार ६२.२९ अंकले बढेर २५७१.३४ बिन्दुमा उक्लिएको थियो। बुधबार पुन: ५.१७ अंकले घटेर २५६६.१६ बिन्दुमा ओर्लिँदा ५ अर्ब ४५ करोडको कारोबार भएको थियो।

नयाँ चुनावी सरकार बनेकाले चुनावसम्म बजारले गति समात्ने विश्लेषकहरूले बताइरहेका छन्। सरकारले निजी क्षेत्रमैत्री विभिन्न नीतिका साथै पुँजी बजारलाई समेत विशेष ध्यान दिइरहेको छ।

सरकारले निजी क्षेत्रमैत्री विभिन्न नीतिका साथै पुँजी बजारलाई समेत विशेष ध्यान दिइरहेको भए पनि लगानीकर्ता विश्वस्त देखिन सकेका छैनन्। राजनीतिक अस्थिरता देखिँदा बजारले लय समात्न मुस्किल भइरहेको छ। 

२०७८ भदौ २ गते कीर्तिमान बनेको हालसम्मकै उच्च ३१९९.०३ को बिन्दु पार हुने पर्खाइमा लगानीकर्ता लामो समयदेखि देखिन्छन्। गएको वर्ष साउन ३१ गते ३०००.८१ को बिन्दुसम्म पुगेको बजार त्यसयता उतारचढावमा देखिएकोमा गएको साउन १३ गते पनि ३००२.०८ बिन्दुसम्म पुगेको थियो।


प्रकाशित : बिहीबार , कात्तिक १३ २०८२१५:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend